घोषणा गरेको एक महिनामै सर्‍यो लगानी सम्मेलन

घोषणा गरेको एक महिनामै सर्‍यो लगानी सम्मेलन


काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने मिति हेरफेर गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको मिति परिवर्तन गर्न लागेको हो ।

मंसिर पहिलो साता मन्त्रिपरिषद्ले २०८० वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, त्यसबखत विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको स्प्रिरिङ बैठक बस्ने भएकाले लगानी सम्मेलनको मिति सार्ने तयारी गरिएको हो । कोष र बैंकको स्प्रिरिङ बैठक वैशाख ७ देखि ९ सम्म अमेरिकामा हुँदैछ ।

अन्तर्राष्ट्रिय विकास साझेदारहरुले बैंक र कोषको बैठकसँग लगानी सम्मेलनको मिति नजुधाउन सुझाव दिएपछि तेस्रो लगानी सम्मेलनको मिति सार्ने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

वैशाखमा आयोजना हुने लगानी सम्मेलनका विषयमा नेपालमा काम गरिरहेका विभिन्न विकास साझेदारलाई जानकारी दिन अर्थ मन्त्रालयमा मंसिर २५ गते बैठक आयोजना गरिएको थियो । बैठकमा सबै विकास साझेदारका प्रतिनिधिले स्प्रिरिङ बैठकको मितिलाई ध्यान दिन आग्रह गरेका थिए ।

‘स्प्रिरिङ बैठकमा संसारभरका ठूला लगानीकर्ता र विकास साझेदार संस्थाका उच्च अधिकारी सहभागी हुन्छन्,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसबखत हामीले लगानी सम्मेलन गर्‍यौं भने उच्च तहका लगानीकर्ता र विकास साझेदारका उच्च अधिकारीलाई ल्याउन सक्दैनौं । त्यसैले मिति सार्न लागिएको हो ।’

अर्थ मन्त्रालयले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने नयाँ मिति प्रस्ताव गरेको छ । मन्त्रिपरिषद् बैठकले वैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने निर्णय गर्छ भन्ने आधारमा लगानी बोर्ड नेपालले होटलसमेत बुकिङ गरिसकेको छ ।

‘यसअघि सल्लाह नगरी सम्मेलनको मिति तोक्दा हामीले १ महिनामै समय परिवर्तन गर्नुपर्ने अवस्था आयो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अव हामी वैशाख १६ र १७ गतेमै निश्चित भएका छौं ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमा विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको थियो । यस्तै, लगानी बोर्ड नेपालको ५३औं बैठकले गत चैतमा २०८० भित्र लगानी सम्मेलन आयोजना गर्ने भन्दै सम्मेलनको अवधारणपत्र स्वीकृत गरेको थियो ।

नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा चिनाउनुको साथै सरकारले प्रत्यक्ष विदेशी लगानीलाई सहज हुने गरी गरेका सुधारको विषयमा जानकारी दिन लगानी सम्मेलन आयोजना गर्न लागिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउँदै आएका छन् ।

नेपालले यसअघि दुईपटक लगानी सम्मेलन आयोजना गरिसकेको छ ।

संविधान निर्माण भएपछि गठन भएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पहिलो पटक २०७३ फागुन १९ र २० गते लगानी सम्मेलन आयोजना गरेको थियो ।

उक्त सम्मेलनमा करिब १४ खर्ब रुपैयाँबराबर लगानी प्रतिबद्धता आएको थियो । चिनियाँ लगानीकर्ताहरुले मात्रै करिब ८ खर्ब रुपैयाँभन्दा बढी नेपालमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

यस्तै, बंगलादेशी उद्यमीले २ खर्बभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उक्त सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार प्रत्यक्ष विदेशी लगानीमा वृद्धि भने भएन ।

उक्त सम्मेलनमा भारत, जापान, बेलायत, श्रीलंका, मलेसियालगायत देशका लगानीकर्ताले समेत नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए ।

नयाँ संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकारले दोस्रो पटक २०७५ चैत १५ र १६ मा लगानी सम्मेलन आयोजना गरेको थियो ।

उक्त सम्मेलनमा सरकारी र गैरसरकारी गरी ७७ वटा परियोजना सो केसमा राखिएको थियो । सम्मेलनमा विभिन्न देशका लगानीकर्ताले सो केसमा राखिएका ७७ मध्ये ३० वटा परियोजनामा २३ खर्ब तथा सोकेस नगरिएका ११ वटा परियोजनामा ८ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए ।

दोस्रो सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी परियोजनामा लगानी प्रतिबद्धता जनाएका थिए । सम्मेलनमा निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ५ देशबाट प्रस्ताव आएको थियो । तर, सम्मेलनमा गरिएको प्रतिबद्धताअनुसार लगानी भने आउन सकेन ।

वैशाखमा आयोजना हुन लागेको लगानी सम्मेलन विगतभन्दा फरक हुने लगानी बोर्ड नेपालका अधिकारी बताउँछन् ।

‘विगतमा हामीले लगानीकर्तालाई नेपालमा लगानीको ठूलो सम्भावना छ भन्ने गर्थ्यौं । धेरै परियोजना सो केसमा राखेका थियौं । यसपटक हामीले परियोजनाको पूर्वतयारीमा धेरै काम गरेका छौं,’ लगानी बोर्ड नेपालका एक अधिकारीले भने, ‘यसपटक विगतमा जस्तो धेरै परियोजना सो केसमा राख्ने छैनौं । प्रारम्भिक अध्ययन सम्पन्न भएका र लगानीकर्तालाई नाफा हुन सक्ने सीमितमात्रै परियोजना सो केसमा राख्ने तयारी छ ।’

यसपटकको सम्मेलन नेपालमा लगानी गर्दा प्रतिफल सुनिश्चित रहेको र विगतमा रहेका कयौं जटिलता कम हुँदै भएको सन्देश दिनमा केन्द्रित हुने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।