धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्र लेख्ने लेखा समितिको निर्णय « Eglish Khabarhub

धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्र लेख्ने लेखा समितिको निर्णय



काठमाडौ । प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणका लागि पत्राचार गर्ने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको नियमावली लगायतका विषयमा छलफल गर्दै समितिले घाटामा रहेका कम्पनीलाई सेयर निष्काशन गर्न दिएको, प्रिमियममा सेयर निष्काशन गर्न दिँदा भ्रष्टाचारको आशंका पैदा भएको भन्दै छानबिन गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

छलफलमा बोर्ड अध्यक्ष हमाललाई बोलाइएको भए पनि कार्यकाल सकिन लागेको भन्दै उनी बिदामा बसेपछि बैठकमा उपस्थित भएनन् ।

हमाल बैठकमा बिनासूचना र बिना जानकारी नआएको भन्दै बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हमाल उपस्थित नहुनु हमालको गैर जवाफदेहिता भएको भन्दै बैठकले खेद ब्यक्त गरेको छ । हमालको कार्यकाल पुस ३० गते सकिने भएपछि उनी बिहीबारदेखि बिदा बसेका छन् ।

बैठकमा हमालले प्रिमियम मूल्यमा अर्बौंको सेयर निष्काशन गर्न दिएको, तीन वर्षयता लगानीकर्ता आत्महत्या गर्ने अवस्थामा पुर्याएको, नयाँ स्टक एक्सचेन्ज ल्याउन खोजेको, नयाँ ब्रोकरलाई जथाभावी लाइसेन्स दिएको भन्दै प्रिमियममा सेयर निष्काशन गर्ने सबै कम्पनीको कागजात मागेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न लगाउन पनि सांसदहरुले माग गरेका छन् ।

टाट उल्टिन लागेका कम्पनीलाई पनि प्रिमियममा सेयर निष्काशन गर्न दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप उनीहरुले लगाए ।

यसैगरि, तीनवर्ष नाफामा गएको कम्पनीले मात्र प्रिमियममा सेयर जारी गर्न पाउने कम्पनी ऐनमा भए पनि धितोपत्र निष्काशन नियमावली संशोधन गरेर दुई वर्षमा झार्नु नीतिगत भ्रष्टाचार भएको सांसदहरु आरोप छ ।

Publish on: