चौधरी ग्रुपले अब नेपालमा हिरो मोटरसाइकल बेच्ने, फागुनदेखि एसेम्बल प्लान्ट बनाउन थाल्ने « Eglish Khabarhub

चौधरी ग्रुपले अब नेपालमा हिरो मोटरसाइकल बेच्ने, फागुनदेखि एसेम्बल प्लान्ट बनाउन थाल्ने



काठमाडौं । व्यापारिक घराना चौधरी समुह हिरो मोटोकर्पको आधिकारिक बिक्रेता बनेको छ । यसअघि हिरोका दुई पांग्रे सवारी साधन बिक्री गर्ने अधिकृत बिक्रेता एनजीएम ज्योती समुह अन्तर्गत थियो ।

हिरो मोटोकर्प आफ्नो समुह अन्तर्गत आएपछि चौधरी समुहको सीजी मोटर्सले नेपालमा अधिकृत बिक्रेताको रुपमा दुई पांग्रे उत्पादनको बिक्री तथा वितरण पनि गर्ने भएको छ।

एसियामा नेपाल मुख्य बजार रहेको हिरो मोटोकर्प विश्वमा १६० भन्दा धेरै कम्पनी र १२३ भन्दा धेरै ब्रान्डको व्यवसाय सञ्चालन गर्दै आएको चौधरी समुहसँग जोडिएको हो ।

नेपालमा एक दशकअघि भित्रिएका सुपर स्प्लेन्डर, एक्सपल्स २०० जस्ता मोटरसाइकल ग्राहकमाझ लोकप्रिय रहेको छ ।

यसका साथै, हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङका लागि पूर्वाधार समेत बनाउने प्रेस विज्ञप्तिमा उल्लेख छ । यसले देशमा नयाँ लगानी ल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने दुवै कम्पनीले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने जनाएका छन् । जहाँ वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ । आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस हेड सञ्जय भानले नेपालमा चौधरी समुहसँग साझेदारी गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

‘चौधरी समुहको व्यापक व्यावसायिक ज्ञान र विविध व्यावसायिक दक्षताले नेपालमा हाम्रो व्यवसाय फस्टाउनेछ,’ भानले भने ।

उनले नेपाल हिरो मोटोकर्पको महत्वपूर्ण बजार रहेको बताउँदै यहाँ कम्पनीका उत्कृष्ट उत्पादन, सेवा र अनुभव बाँड्ने उल्लेख गर्दै निकट भविष्यमै कम्पनीले नेपालका अन्य ठाउँमा समेत व्यवसाय विस्तार गर्ने र नयाँ उत्पादन ल्याउने बताएका छन् ।

यस्तै, चौधरी समुहका प्रबन्धनिर्देशक निर्वाण चौधरीले पनि हिरो मोटोकर्पसँग सहकार्य गर्न पाउँदा खुसी भएको जनाए ।

‘विश्वव्यापी छवि बनाएको मोटरसाइकल र स्कुटरको उत्पादनमा नेतृत्व गरिरहेको कम्पनीसँगको साझेदारीसँगै सीजी मोटर्सको अटोबजारमा महत्वाकांक्षी प्रवेश भएको छ,’ उनले भने ।

यसैगरि यसले व्यवसाय वृद्धिमा ठूलो योगदान गर्ने बताउँदै उनले चुस्त एसेम्बलिङ युनिट स्थापना गरिने पनि बताए ।

नेपालमा हिरो मोटोकर्पका इन्ट्री लेभलदेखि प्रिमियम लेभलसम्मका दुईपांग्रे सवारी साधन छन् । जसमा एक्सपल्स २००, एक्सपल्स २००टी, एक्स्ट्रिम रेन्ज, स्प्लेन्डर रेन्ज, ग्लामर र एचएफ डिलक्स मोटरसाइकलहरु रहेका छन् ।

यसैगरि, मोटरसाइकलबाहेक डेस्टिनी १२५, मायस्ट्रो एज र प्लेजर प्लसजस्ता स्कुटर पनि नेपालमा लोकप्रिय रहेको हिरो मोटोकर्पले जनाएको छ ।

Publish on: