
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यापारीले बिरोध गरेका छन् ।
न्यूरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर बिरोध जनाएका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्यूरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । “व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ,” उनले भने ।
काठमाडौँ महानगरपालिकाले भने आज बिहानदेखि न्यूरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्यूरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।
‘न्यूरोड जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ’, उनले भने । पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ ।
पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ ।
SHARE YOUR THOUGHTS