![](https://internal.appharu.com/wp-content/uploads/2022/02/9n-abu-nepal-airlines-de-havilland-canada-dhc-6-300-twin-otter_PlanespottersNet_941968_013ba4fbcf_o-768x522.jpg)
हुम्ला । नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ । यसअघि नेपालगञ्ज-सिमकोट-नेपालगञ्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिए । यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।
‘नेपाल एयरलाइन्सको जहाजले नेपालगञ्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमकोट-सुर्खेत परीक्षण उडान हुनेछ’, उनले भने, ‘त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।’ यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन ।
सिमकोट-सुर्खेत हवाई उडान हुने भएपछि हुम्लाबासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए ।
‘सिमकोट-सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ’, उनले भने ।
सिमकोटबाट नेपालगञ्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ ।
SHARE YOUR THOUGHTS