सोमबारदेखि शुक्रबारसम्म यी प्रदेशमा पानी पर्ने सम्भावना, विशेष बुलेटिन जारी « Eglish Khabarhub

सोमबारदेखि शुक्रबारसम्म यी प्रदेशमा पानी पर्ने सम्भावना, विशेष बुलेटिन जारी



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबारदेखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दूई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै बिहीबारदेखि शुक्रबारसम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यसैगरि सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । शनिबार देखि क्रमशः मौसममा सुधार हुँदै जाने देखिएको बुलेटिनमा जनाइएको छ ।

उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको छ । तसर्थ, वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Publish on: