![](https://internal.appharu.com/wp-content/uploads/2024/03/daraz-768x343.jpg)
काठमाडौं । नेपालसँगै दक्षिण एसियाका विभिन्न देशहरुमा सञ्चालनमा रहेको इकमर्स वेबसाईट दराजले कर्मचारीहरुलाई निकालेको घोषणा गरेको छ ।
चिनियाँ कम्पनी अलिबाबाको स्वामित्वमा रहेको दराजले आन्तरिक प्रतिवेदनमा थप व्यवस्थित र गतिशिल संरचना अपनाउनका लागि कर्मचारीहरु निकालिएको घोषणा गरेको छ । गत मंगलबार कम्पनीका सीईओ जेम्स डंगले कम्पनीको मेमोमा कर्मचारीहरुलाई निकालिएको विषयलाई समेटेका छन् ।
उक्त प्रतिवेदनमा कति कर्मचारीलाई निकालिएको भन्ने खुलाइएको छैन । तर, स्रोतहरुकाअनुसार भने सैयौंको संख्यामा कर्मचारीहरु निकालिएको छ । यसरी कर्मचारी निकालिनुले नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंका र म्यानमारमा दराजको सञ्चालनमा कस्तो असर गरिरहेको छ भन्ने विषयमा पनि दराजले कुनै प्रतिक्रिया दिएको छैन ।
रोयटर्सकाअनुसार दराजले गत वर्ष ११ प्रतिशत कर्मचारीहरुलाई बजारको अवस्थाका कारण निकाल्ने घोषणा गरेको थियो । त्यो बेला दराजमा सबै देशमा गरेर ३ हजार हाराहारीमा कर्मचारीहरु काम गरिरहेका थिए । कम्पनीले बजारको असहज अवस्था, बढ्दो महंगी, वितरण प्रणालीमा बाधा, उच्च कर तथा न्युन सरकारको सहुलियतजस्ता कारणहरु देखाउँदै गत वर्ष नै कर्मचारी निकाल्ने घोषणा गरेको थियो ।
तर, हाल भने दराजले कति कर्मचारी निकालिएको हो भन्ने खुलाएको छैन ।
दराज सन् २०१२ मा पाकिस्तानमा अनलाईन फेसन रिटेल स्टेरका रुपमा सुरु भएको थियो, जसलाई पछि सन् २०१८ मा अलिबाबा कम्पनीले अधिग्रहण गरेको थियो । त्यसपछि दराज नेपालमा पनि प्रवेश गरेर नेपालको इकमर्स क्षेत्रमा पायोनियरका रुपमा रहेको छ । दराजमा अहिले ३ करोडभन्दा धेरै पसलहरु, २ लाखभन्दा धेरै सक्रिय बिक्रेता र १ लाखभन्दा धेरै ब्राण्डहरु रहेका छन् ।
SHARE YOUR THOUGHTS