![](https://internal.appharu.com/wp-content/uploads/2024/03/national-hydro1.png)
काठमाडौं । नेसनल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ । यसअघि दुई पटक स्थगत भएको सभा आज (बुधबार) पनि स्थगन भएको हो । सभामा गणपूरक संख्या नपुगेपछि सभा स्थगन भएको हो ।
बुधबार डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटारमा बोलाइएको सभामा सेयरधनीको संख्या न्यून रहेको थियो । सभामा लगानीकर्ता र सञ्चालक बीच विवाद भएको छ ।
सभामा लगानीकर्ताहरुले कम्पनीले हकप्रद सेयर मात्रै निष्कासन गर्ने, त्यो पैसा कहाँ लगानी गरेको छ भन्ने पनि थाहा नहुने, लगानीकर्तालाई लाभांश नदिने भन्दै बिरोध जनाएका थिए ।
केही लगानीकर्ताले त्यही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डमा समेत उजुरी गरेका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/national-hydro.png)
सभामा लगानीकर्ता ईन्द्र कृष्ण श्रेष्ठले थोरै सेयर हुने कम्पनीको सञ्चालक बन्ने र कम्पनीलाई लगानीकर्तालाई कहिल्यै लाभांश नदिने गरेको आरोप लगाए ।
यसले लगानीकर्ता सँधै कर्मामा परेको भन्दै कम्पनीप्रति सञ्चालक जिम्मेवार हुनुपर्ने उनको माग छ ।
नेशनल हाइड्रोले साधारण सभा बोलाएर बिहे भोज जस्तो गर्ने तर लगानीकर्तालाई रित्ता हात बनाउने काम गरेको उनले आरोप लगाए ।
लगानीकर्ता शेखर संग्रौलाले अहिलेसम्म कम्पनीको वित्तीय अवस्था एनएफआरएस अनुसार नहुनु भनेको यसमा केही बैमानी हुन सक्ने आशंका व्यक्त गरे । कम्पनीले लगानीकर्ताको हितमा काम नगरेको उनको दाबी छ ।
कम्पनीका सञ्चालक नवराज नेपालले निजी माला इन्भेष्टमेन्ट कम्पनीमा नेशनल हाइड्रोबाट उठाएको हकप्रद सेयर बापतको रकम लगानी गर्ने गरेको आरोप लगानीकर्ताले लगाए ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/national-hydro3.png)
केही लगानीकर्ताले सञ्चालकको गतिविधिको बिरोध गर्न थालेपछि सञ्चालकहरु नै हुलदंगामा उत्रिए ।
त्यसपछि सभाको अवस्था असामान्य बनेको थियो । कम्पनीका सञ्चालक सोमनाथ सापकोटाले आफ्नो पक्षमा रहेका लगानीकर्तालाई उचालेर अन्यको बिरोध गराउन थालेपछि अवस्था असामान्य बनेको हो । उनी आफैं लगानीकर्तासँग विवादमा उत्रिए ।
कम्पनीले सभाका लागि मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको गणपूरक संख्या नपुगेकाले स्थगित गरिएको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/national-hydro2.png)
SHARE YOUR THOUGHTS