काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण हालसम्म घरजग्गा कारोबार बढ्न सकेको छैन । गत आर्थिक वर्षको सुरुदेखि नै मन्दी छाएको घरजग्गा कारोबारमा अहिले पनि उस्तै छ ।
गत आर्थिक वर्षअघि मासिक ७० हजार हाराहारीमा घरजग्गा किनबेच हुँदै आएको थियो । तर, अहिले ५० हजारको हाराहारीमा घरजग्गा किनबेच भइरहेको छ । घरजग्गा कारोबारमा देखिएको समस्या समाधानका लागि सरकारले विभिन्न चरणमा सहज नीति अबलम्बन गर्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति समिक्षा गर्दै घरजग्गा कारोबारमा सुधार ल्याउने नीतिको व्यवस्था गरेको छ । तर, आर्थिक मन्दीका कारण घरजग्गा किनबेचको मागमा कमी आउँदा सुधार हुन नसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।
विभागअनुसार गत माघको तुलनामा फागुनमा घरजग्गा किनबेचमा कमी आएको छ । गत फागुनमा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९२१ वटा घरजग्गाको किनबेच भएको थियो । फागुनमा उक्त कारोबार बढ्नुपर्नेमा झनै घटेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।
विभागको तथ्याङ्कमा फागुन महिनामा ४९ हजार २८७ वटा घरजग्गा किनबेच भएको छ । सो अवधिमा ३६ हजार ७५१ वटा घरजग्गा रोक्का भएको छ भने २९ हजार १४१ वटा घरजग्गा फुकुवा गरेका छन् ।
फागुन महिनामा सबैभन्दा बढी इनरुवा मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको छ । उक्त मालपोत कार्यालयबाट २ हजार ६ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, जनकपुरधामबाट १९ सय ९७ वटा, भद्रपुर झापाबाट १८ सय ५० वटा, बेबारी मोरङबाट १६ सय ४३ वटा, राजविराज सप्तरीबाट १३ सय ६५ वटा, जलेश्वर महोत्तरीबाट १२ सय ८४ वटा र मलंगवा सर्लाहीबाट ११ सय १४ वटा घरजग्गा किनबेच भएका छन् ।
४ अर्ब राजस्व संकलन
फागुन महिनामा ४९ हजार घरजग्गा किनबेच हुँदा ४ अर्ब राजस्व संकलन भएको छ । विभागअनुसार फागुनमा देशभरका मालपोत कार्यालयबाट सेवा दिएवापत ३ अर्ब ९५ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । देशभरका मालपोत कार्यालयबाट सेवा करवापत २५ करोड ६६ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ, पूँजीगत लाभकरवापत १ अर्ब २८ करोड ४८ लाख रुपैयाँ र अन्य विभिन्न सेवामार्फत् राजस्व संकलन गरेको छ ।
त्यस्तै, फागुन महिनामा सबैभन्दा बढी लगनखेल मालपोत कार्यालयबाट राजस्व संकलन भएको छ । उक्त मालपोत कार्यालयबाट ३५ करोड ७७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी, चावहिल मालपोत कार्यालयबाट २५ करोड ८२ लाख रुपैयाँ, भक्तपुर कार्यालयबाट २५ करोड ४४ लाख रुपैयाँ, कलंकी कार्यालयबाट २४ करोड २९ लाख रुपैयाँ, डिल्लीबजार कार्यालयबाट २१ करोड ३७ लाख रुपैयाँ, चितवन मालपोत कार्यालयबाट १६ करोड ११ लाख रुपैयाँ कास्की कार्यालयबाट १२ करोड ६६ लाख रुपैयाँ र इनरुवा मालपोत कार्यालयबाट ११ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् ।
साथै, फागुन महिनामा ५६ हजार ७१५ वटा जग्गाको वर्गीकरण भई १ लाख २९ हजार ५३ वटा कित्ता कायम भएको छ ।
SHARE YOUR THOUGHTS