सम्भावित जोखिम व्यवस्थाका लागि बैंकहरुले छुट्याएको रकम ३०% ले बढ्यो, कुनको कति ? « Eglish Khabarhub

सम्भावित जोखिम व्यवस्थाका लागि बैंकहरुले छुट्याएको रकम ३०% ले बढ्यो, कुनको कति ?



काठमाडौं । अर्थतन्त्रमा आएको शिथिलताका कारण वाणिज्य बैंकहरुले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) का लािग छुट्याएको रकम बढ्दै गएको छ ।

साउनको तुलनामा माघ मसान्तसम्ममा बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम २९.७१ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंकहरुले लोन लस प्रोभिजनका लागि छुट्याएको रकम १ खर्ब ४७ अर्ब ८९ करोड १३ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

माघ मसान्तसम्म आइपु्ग्दा यो रकम २९.७१ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ८४ करोड ४१ लाख ९० हजार रुपैयाँ पुगेको छ । बैंकहरुले सम्भावित जोखिम व्यवस्थापनका लागि बढी रकम छुट्याउँदा त्यसको असर बैंकको नाफामा पर्दछ ।

लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफामा उल्लेख्य सुधार हुन नसकेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ।

अहिले डिपोजिट पनि धेरै बढ्न नसकेको र निजी क्षेत्रको व्यापार पनि घटेका कारण बैंकको नाफा प्रभावित हुँदै गएको उनको भनाइ छ ।

पछिल्लो केही महिनायता बैंकहरुले समयमा कर्जा उठाउन समेत सकेका छैनन् । यसरी समयमा नै कर्जाको सावाँ ब्याज उठाउन नसक्दा बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । जसले गर्दा ठूलो रकम लोन लस प्रोभिजनका लागि छुट्याउन बाध्य भएको बैंकरहरुको भनाइ छ ।

पछिल्लो समय विभिन्न कारण बैंकहरुले प्रवाह गरेको कर्जा नउठ्ने समस्या बढ्दै गएको छ । त्यसले पनि लोन लस प्रोभिजन बढ्दै गएको छ ।

माघ मसान्तसम्मको तथ्याङक अनुसार लोन लस प्रोभिजनका लागि सबैभन्दा बढी रकम छु्ट्याउनेमा कुमारी बैंक रहेको छ । कुमारीले १९ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । यो रकम साउनको तुलनामा ३२.६९ प्रतिशतले बढी हो ।

माघसम्ममा प्रोभिजनका लागि सबैभन्दा कम रकम छट्याउनेमा स्टयान्डर्ड चार्टर्ड बैंक रहेको छ । स्टयान्डर्ड चार्टर्डले २ अर्ब ३७ करोड ३४ लाख रुपैयाँ छुट्याएको छ । यो साउनको तुलानामा २.१५ प्रतिशतले बढी हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १८ अर्ब ७८ करोड, ग्लोबल आइएमई बैंकले १८ अर्ब १३ करोड ३३ लाख, नबिल बैंकले १५ अर्ब २० करोड ४७ लाख, हिमालयन बैंकले १५ अर्ब ५ करोड ६५ लाख, प्रभु बैंकले १४ अर्ब ४५ करोड ८६ लाख, लक्ष्मी सनराइज बैंकले ११ अर्ब ४२ करोड ८१ लाख, राष्ट्रिय वाणिज्य बैंकले १० अर्ब ६६ करोड ७८ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याएको छ ।

यस्तै प्राइम बैंकले ८ अर्ब ८१ करोड ३६ लाख, नेपाल बैंकले ८ अर्ब २ करोड १३ लाख, कृषि विकास बैंकले ७ अर्ब ९३ करोड ९५ लाख, एनएमबि बैंकले ७ अर्ब ११ करोड ५८ लाख, एनआईसी एशियाले ६ अर्ब २८ करोड ६० लाख, सिद्धार्थ बैंकले ६ अर्ब १६ करोड ३२ लाख, सिटिजन्स् बैंकले ५ अर्ब ६३ करोड २८ लाख, नेपाल एसबिआई बैंकले ४ अर्ब ९५ करोड, सानिमा बैंकले ४ अर्ब १५ करोड ९६ लाख, माछापुच्छ्रे बैंकले ३ अर्ब ९४ करोड २६ लाख र एभरेष्ट बैंकले ३ अर्ब ६० करोड ५७ लाख रुपैयाँ लोन लस प्रोभिजनका लागि छुट्याएका छन् ।

यसरी लोन लस प्रोभिजनका लागि धेरै रकम छुट्याउनु पर्दा सेयर होल्डरहरुले बैंकको नाफाबाट पाउने लाभांस घट्छ ।

Publish on: