![](https://internal.appharu.com/wp-content/uploads/2024/03/binod-chaudhari-1-768x403.png)
काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका अर्बपति उद्योगी विनोद चौधरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) समक्ष बयान दिएका छन् ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सीआईबीले सरकारी वकिलको कार्यालयको रोहबरमा बयान लिएको हो ।
ब्यूरोले आज बिहान चौधरीसँग बयान लिएको हो । सीआईबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले चौधरीले आज बिहान बयान दिएको बताए ।
चौधरीसँग बयान लिनुअघि ब्यूरोले बुधबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएको जानकारी गराएको थियो ।
काठमाडौं महानगरपालिका– ३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायण सिंह थापा भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको हो ।
‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ’, सभामुखलाई पठाएको उक्त पत्रमा उल्लेख छ ।
SHARE YOUR THOUGHTS