नारायणी विकास बैंकमा लफडा, आधारभुत सेयरधनीले नै किन्न नचाहेपछि हकप्रद अन्योलमा « Eglish Khabarhub

नारायणी विकास बैंकमा लफडा, आधारभुत सेयरधनीले नै किन्न नचाहेपछि हकप्रद अन्योलमा


१० चैत्र २०८०, शनिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बैंक तथा वित्तीय संस्था पुँजीको भारले थिचिँदै जाँदा आधारभुत सेयरधनी नै थप लगानी गर्न अनिच्छुक रहेको गतिलो उदाहरण अघि सरेको छ । जति लगानी थप्दा पनि प्रतिफल नपाएपछि नारायणी डेभलपेमन्ट बैंकमा १ प्रतिशतभन्दा बढी स्वामित्व रहेका सेयरधनीले आफूले लिनुपर्ने हकप्रद सेयरको रकम जम्मा गर्न अस्वीकार गरेको पाइएको हो ।

नारायणी डेभलपमेन्ट बैंकमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीले नै प्रस्तावित सतप्रतिशत हकप्रद खरिद गर्न नचाहेपछि नयाँ लफडा सिर्जना भएको छ । जसकारण बैंकलाई राष्ट्र बैंकले तोकअनुसार पुँजी पुर्‍याउन सकस भएको छ भने साधारण सेयरधनीलाई हकप्रद जारी गर्ने विषयमा अन्योल सिर्जना भएको छ ।

बैंकले २०८० पुस १९ गते नै नेपाल धितोपत्र बोर्डबाट १:१ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति पाएको थियो । तर, ३ महिना बित्नै लाग्दा पनि हकप्रदका लागि आह्वानपत्र प्रकाशन गरेको छैन । साधारण सेयरधनीलाई हकप्रद जारीका निमित्त आह्वानपत्र प्रकाशन गर्न नसक्नुको मुख्य कारण हो, आधारभुत सेयरधनीले आफ्नो हकअनुसार सेयर किन्न अनिच्छा प्रकट गर्नु ।

कम्पनी ऐन २०६३ अनुसार २५ करोडभन्दा बढी चुक्तापुँजी भएका कम्पनीहरुको हकमा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको व्यक्ति तथा संस्थालाई आधारभुत सेयरधनी भनिन्छ । नारायणीमा कुल १९ आधारभुत सेयरधनी छन् । बैंकको हालको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ छ । जसमा आधारभुत सेयरधनीको कुल हिस्सा ५७ प्रतिशत छ ।

बैंकले पुस २२ गते नै आफ्नो हकप्रदबापतको रकम जम्मा गर्न आधारभुत सेयरधनीलाई पत्राचार गरेको थियो । तर, फागुन ३ गतेसम्म पनि पैसा जम्मा नगरेपछि बैंकले पुनः सुचना प्रकाशन गरेको थियो । सो सूचनामा भनिएको थियो, ‘फागुन १५ गतेभित्र प्रतिसेयर १ सय रुपैयाँका दरले आफूले लिनुपर्ने हकप्रद वापतको रकम जम्मा गर्नु ।’

पटकपटक ताकेता गर्दा पनि आधारभुत सेयरधनीले हकप्रद वापतको रकम जम्मा नगरेपछि हकप्रद सेयर निष्काशन नै अन्योलमा परेको छ।

बैंकको एक सञ्चालकले क्लिकमान्डुसँग भने, ‘सञ्चालक समितिले गरेको प्रस्तावअनुसार विशेष साधारणसभाले पनि हकप्रद जारीको प्रस्ताव अनुमोदन गरेपछि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका थियौं । बोर्डले अनुमति लिएपनि आधारभुत सेयरधनीबाट हकप्रद किन्ने रुची नदेखिएपछि अब के गर्ने भन्नेमा अन्योल छ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवसमेत रहेका विष्णू रेग्मीले आधारभुर सेयरधनीबाट रकम उठ्न बाँकी रहेको कुरा स्वीकारे । क्लिकमान्डूसँगको कुराकानीमा उनले भने, ‘आधारभुत सेयरधनीबाट रकम उठ्ने क्रम जारी छ ।’ उनका अनुसार बैंकले हकप्रदका लागि २ महिना समय पर्याप्त नभएको भन्दै समय थपका लागि नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरिएको छ । यसबाहेक नेपाल राष्ट्र बैंकबाट गत आवको वित्तीय विवरण स्वीकृत भएपछि आह्वानपत्रमा सो विवरण राखेर प्रकाशन गर्ने सोच बनाइएको रेग्मीले बताए ।

को को हुन् नारायणीका आधारभुत सेयरधनी ? कति छ स्वामित्व ?
१. रोपा इन्भेस्टमेन्ट – ९.८९%
२. लब प्रसाद मल्ली – ७.५१%
३. अर्जुन कुमार पोखरेल – ६.७८%
४. उत्तम प्रसाद द्वा – ४.०१%
५. अञ्जु देवी श्रेष्ठ – ३.६%
६. रामकिसन गोतामे – ३.६%
७. नवराज बजगाईं – ३.०५%
८. कैलाश कार्की – २.८८%
९. जमुना कृष्ण ताम्राकार – २.५१%
१०. सुजन दुवाडी – २.०७%
११. हेमा कुमारी लोहनी – १.९१%
१२. अल्पना श्रेष्ठ – १.८९%
१३. धिरेन्द्र मैनाली – १.८८%
१४. रविन दाहाल – १.८१%
१५. राजेश कुमार कर्मचार्य – १.२६%
१६. अर्जुन भट्टराई – १.१५%
१७. अम्बी रत्न शाक्य – १.०७%
१८. गौतम प्रसाद खनाल – १.०५%
१९. टेकनाथ दाहाल – १%

नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार जिल्लास्तरीय विकास बैंकको चुक्तापुँजी न्यूनतम ५० करोड हुनुपर्छ । आधारभुत सेयरधनीले हकप्रद किन्न नचाहेपछि ५० करोडको लक्ष्य बैंकलाई सपना झैं हुने भएको छ । हकप्रद सेयर जारी भएपछि बैंकको चुक्तापुँजी दोब्बर भइ ५२ करोड ४९ लाख पुग्ने थियो ।

नारायणीका आधारभुत सेयरधनीले लगानी थप्नुपर्ने कारण देखेका छैनन् । स्थापनाको २२ वर्ष वितिसक्दा उनीहरुले एकपल्ट पनि लाभांश खान पाएका छैनन् । बैंकले २ पल्ट पुँजीवृद्धि गरेको छ, त्यो पनि हकप्रदबाट । पटकपटक पुँजी थप्नुपर्ने तर नाफा भने गर्न नसक्ने भएकाले ठूला सेयरधनी आजित भएका हुन् ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा अन्त्यसम्म झण्डै ३ करोड रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ । गत आवमा भएको २ करोड ९१ लाख रुपैयाँ खुद घाटा अघिल्लो आवको १ करोड ५८ लाखभन्दा ८४ प्रतिशत बढी हो ।

यस्तै चालु आवको दोस्रो त्रैमास अन्त्यसम्म बैंकले ६ करोड ३८ लाख रुपैयाँ घाटा बेहोरिसकेको छ । स्थापनाकालदेखि नै घाटामा चलेको बैंकको सञ्चिती घाटा २०७९ असार मसान्तसम्मै २८ करोड २० लाख रहेकामा डेढ वर्षमा ९ करोड २९ लाखले बढिसकेको छ । स िञ्चत घाटा चुक्तापुँजीभन्दा ११ करोड बढी हो ।

बैंकको खराब आर्थिक स्थिति देखाउने सूचक यतिमै सिमित छैन । माघ मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३८ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको खराब कर्जा अनुपातमा व्यापक वृद्धि देखिएको छ । बैंकको खराब कर्जा अनुपात २७.७५ प्रतिशत पुगेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिसम्म २.८३ प्रतिशत थियो ।

माघ मसान्तको तथ्यांकअनुसार बैंकको प्रतिसेयर आम्दानी २४.३३ रुपैयाँ ऋणात्मक छ । यस्तै मूल्य आम्दानी अनुपात पनि १७.०३ गुणा ऋणात्मक देखिएको छ ।

बैंकको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१६.८ रुपैयाँ, तरलता अनुपात २८.६५ प्रतिशत, प्रतिसेयर नेटवर्थ १५.४७ र पूँजीकोषको अनुपात ९.४६ प्रतिशत कायम भएको छ ।

बैंक समस्या अहिलेको मात्र होइन । बैंक २०७० चैत २७ गते समस्याग्रस्त घोषणा भएको थियो । ७६ महिना समस्याग्रस्त रुपमा सञ्चालिक बैंक समस्याग्रस्त अवस्थाबाट ससर्त फुकुवा हुने हुने बेला चुक्तापुँजी ६ करोड ५६ लाखबाट १२ करोड १२ लाख बनाइएको थियो, हकप्रदको माध्यमबाट । नयाँ व्यवस्थापन र सञ्चालक समिति आएपछि अर्थात् १ वर्षकै अन्तरालमा दोस्रोपल्ट हकप्रद जारी गरिएको थियो । त्यसपछि चुक्तापुँजी २६ करोड २४ लाख भएको हो ।

केन्द्रीय बैंकको व्यवस्था अनुसार बैंक समस्याग्रस्त मुक्त भएको २ वर्षभित्र पुँजी ५० करोड पुग्नुपर्छ । २०७७ साउन २१ गते समस्याग्रस्त सूचीबाट हटेको ४ वर्ष पुग्नैलाग्दा पनि पुँजी पुगेको छैन । यो परिस्थितिमा बैंक राष्ट्र बैंकको कारबाहीमा पनि परेको छैन ।

यस्तो खराब इतिहास र वर्तमान रहेको बैंकप्रति निराश हुनेमा आधारभुत सेयरधनी मात्र छैनन् । आधारभुत सेयरधनीले नै हकप्रद किन्न नचाहेपछि प्रतिकित्ता ५ सय १३ रुपैयाँसम्म हालेर हकप्रदको आशमा रहेका दोस्रो बजारका लगानीकर्ता पनि निराश बनेका छन् ।

हकप्रदको अनुमति पाएयता बैंकको सेयर मूल्य प्रतिकित्ता ४ सय ३ रुपैयाँ देखि ४ सय ५० रुपैयाँको बीचमा कारोबार भइरहेको छ । एक वर्षअघि बैंकको सेयर मूल्य ५ सय रुपैयाँसम्म पुगेको थियो । हकप्रदकै नाममा २०७९ साउनमा बैंकको सेयरमूल्य ५ सय १३ रुपैयाँसम्म पुगेको थियो ।

दोस्रो बजारमा कारोबार गर्ने एक लगानीकर्ता भन्छन्, ‘हकप्रदको आश गरेर बसेको २१ महिना बित्नलाग्यो । प्रतिकित्ता ५ सय १३ रुपैयाँसम्म हालेको हो । बैंकले न त नाफा गरेर लाभांश नै दिन सक्छ न त हकप्रद टुंग्याउन ।’

नारायणीले २०७९ जेठ २३ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार १ बराबर १ को अनुपातमा अर्थात् सत प्रतिशत हकप्रद जारी गर्न २०७९ असार ८ गते विशेष साधारणसभा बोलाएको थियो । सभाले हकप्रद अनुमोदन गरेपछि बैंक सोही वर्षको भदौ ९ गते धितोपत्र बोर्ड पुगेको थियो ।

बोर्डले १६ महिनापछिमात्र हकप्रद जारी गर्न अनुमति दिएको हो । नारायणीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  ७ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping