काठमाडौ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको नेतृत्व चयन प्रक्रिया चाँडो टुंग्याउन अर्थसचिव डा. कृष्णहरि कर्णलाई निर्देशन दिएका छन् ।
मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा मंगलबार अर्थमन्त्री पुनले सचिव कर्णलाई बोर्डको नेतृत्व चयन प्रक्रिया चाँडो टुंग्याउन निर्देशन दिएका हुन् ।
‘लामो समयसम्म धितोपत्र बोर्डजस्तो नियामक निकाय नेतृत्वविहीन हुनु त्यति राम्रो होइन’मन्त्री पुनले सचिव पुष्कारलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’
मन्त्री पुनले पछिल्लो समय नियामक निकायले कार्यकारी निकायको शैलीमा कार्यसम्पादन गर्न थालेकामा चिन्ता व्यक्त गरे । ‘नियामक निकायले कार्यकारीको काम गर्दा पनि पुँजीगत खर्च कम भएको छ । राज्यका कुन निकायले कुन काम गर्ने भन्ने संवैधानिक व्यवस्था छ’, पुनले भने, ‘नियामक निकाय रेफ्रीको भूमिकामा रहने हो । आफैं मैदानमा आएर कसैलाई एलो कार्ड देखाउने र कार्ड देखाउनै नपर्नेलाई कार्ड देखाउने काम नियामक निकायले गर्नुभएन ।’
अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् आवेदन दिनेमा चिरन्जीवी चापागाईं, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी, डा. गोपाल प्रसाद भट्ट, निरज गिरी, डा. केशव प्रसाद श्रेष्ठ, कृष्ण बहादुर अधिकारी, डा. रघुराज काफ्ले, मुक्तिनाथ श्रेष्ठ, प्रविन पन्दाक, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, डा. बीमल कुमार तिवारी, राम कृष्ण खतिवडा, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र कृष्ण बहादुर कार्कीले आवेदन दिएका छन् ।
अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा आवेदन दिएका १९ जनाबाट ५ जनाको नाम तयार भएको छ ।
अध्यक्षका लागि आवेदन दिएका १९ जनामध्येबाट ५ जनाको नाम तयार पारिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ । स्रोतका अनुसार ५ जनामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, डा. विमल कुमार तिवारी र कृष्णबहादुर कार्की रहेका छन् ।
अर्थसचिव डा कृष्णहरी कर्ण चैत १ गते अमेरिका जानु अघि नै ५ जनाको नाम लिस्ट तयार पारेको स्रोतको दाबी छ । यद्यपी यो नाम अर्थले सार्वजिनक गरेको छैन । सचिवले यसको बारेमा मन्त्रीलाई समेत जानकारी नगराएका कारण मंगलबार उनले सचिवलाई यस्तो निर्देशन दिएका हुन् ।
अध्यक्ष नियुक्तिका लागि सरकारले माघ पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा अर्थसचिव कृष्णहरी कर्ण र विज्ञ सदस्य शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् ।
गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य खामबन्दी आवेदन दिएका थिए । आवेदन दिने मध्येबाट अर्थ मन्त्रालयले ५ जनाको अन्तर्वार्ता लिने र त्यसबाट ३ जना उम्मेदवार छनौट गरी अध्यक्षमा नियुक्तिका लागि मन्त्रिपरिषदमा लैजाने छ ।
मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । गत पुस २० गते रमेशकुमार हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहेको छ ।
बोर्डको अध्यक्षमा दरखास्त दिनका लागि कुनै राजनीतिक दलको सदस्य नभएको, नेपाल धितोपत्र बोर्डसँगको ठेक्कापट्टा वा कुनै चलअचल सम्पत्ति कारोबारमा आफै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नरहेको वा बोर्डसँग निजी स्वार्थ नभएको, आफ्नो नाममा व्यक्तिगत बेरुजू बाँकी नरहेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहर नभएको, टाट नपल्टेको वा बेइमानी वा जालसाजी आरोपमा सजाय नपाएको एवं दामासाहीमा नपरेको, प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भए नभएको, र भएको भए त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन बर्ष पूरा भएको, विदेशी मुलुकको स्थायी बसोबासको अनुमति प्राप्त नगरेको, नियामक निकायबाट कार्यकारी प्रमुख हुन अयोग्य हुने भनी तोकिएको अवस्था नभएको व्यक्ति हुनुपर्ने छ ।
SHARE YOUR THOUGHTS