![](https://internal.appharu.com/wp-content/uploads/2023/05/gold3.jpg)
काठमाडौं । पछिल्लो समय सुनको मूल्य लगातार बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार चैतको सुरुवातदेखि हालसम्म प्रतितोला ५ हजार रुपैयाँले सुनको मूल्य बढिसकेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पछिल्ला दिनहरुमा सुनको मूल्य उच्चरुपमा बढिरहेको छ ।
सुनको मूल्यसँगै डलर र पेट्रोलियम पदार्थको मूल्य पनि बढ्दो क्रममा छ ।
विश्वको सर्वमान्य सिद्धान्तअनुसार डलरको मूल्य बढ्दा सुनको मूल्य घट्ने , डलरको मूल्य घट्दा सुनको मूल्य बढ्ने भन्ने छ । तर, पछिल्ला दिनहरुमा डलरको भाउसँगै सुनको मूल्य पनि उच्च रुपमा बढिरहेको अवस्था छ ।
शुक्रबार डलरको भाउमा पनि बढोत्तरी देखिएको छ । शुक्रबार डलरको खरिद मूल्य १३३.१५ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । डलरको भाउमा बढोत्तरी हुँदा सुनको मूल्यमा कमी हुनुपर्ने हो । तर, शुक्रबार प्रतितोला नै २१ सय रुपैयाँले बढेर १ लाख ३० हजार रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
सुनको मूल्य दैनिक बढ्दा बजार तरगिंत भएको छ । वैशाखमा विवाहको सिजन सुरु हुनै लाग्दा सुनको मूल्य बढिरहँदा उपभोक्तामा चासो देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले डलरको भाउसँगै सुनको मूल्ढ बढिरहँदा आफू आश्चर्यमा परेको बताए ।
‘विश्वव्यापी सिद्धान्तअनुसार डलरको मूल्य बढ्दा सुनको मूल्य घट्नुपर्ने हो । तर, अहिले ठिक उल्टो भइरहेको छ’ उनले भने ।
शाक्य अहिले डलरको मूल्यमा बढोत्तरी आउँदा सुनको मूल्यमा पनि वृद्धि हुनुमा कुनै वैज्ञानिक कारण नरहेको बताउँछन् ।
कहिलेकाँही बजारको अवस्थालाई हेरेर मूल्य तय हुने भएकाले अहिले पनि त्यही भइरहेको हुन सक्ने उनको अनुमान छ । ‘सँधै सिद्धान्तअनुसार नै बजार चलायमान हुन्छ भन्ने हुँदैन,’ उनले क्लिकमान्डुसँग भने, ‘कहिलेकाँही डलरसँगै सुनको मूल्य बढ्ने प्रवृत्ति छ ।’
‘अझै बढ्न सक्छ’
सुनको मूल्य बढ्नुमा अन्य कारणहरु रहेको शाक्यको भनाइ छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा डलर विस्तारै कमजोर हुँदै गएको र अमेरिकाले डलरको मूल्य बलियो बनाउन खोजिरहेको उनी बताउँछन् । तर, डलर बलियो हुन सकेको छैनन ।
कोभिड तथा विभिन्न देशबीच भएको युद्धका कारण विश्वमा मन्दी बढ्दै गएको छ । साथै, बेरोजगारीको संख्या बढ्दो क्रममा छ भने आम्दानीको स्रोत घट्दै गएकाले सुनको मूल्यमा प्रभाव देखिएको उनले बताए ।
‘रुस र युक्रेनबीचको द्वन्द्व अहिलेसम्म समाधान हुन सकेको छैन,’ उनले भने, ‘रुसले अझै युक्रेनमा आणविक आक्रमण गर्ने तयारी गरेको समाचार बाहिरीरहेको अवस्थाले पनि सुनको मूल्यमा प्रभाव परेको हो ।’
अहिले केन्द्रीय बैंकहरुले लगानीको क्षेत्रको रुपमा सुनको सञ्चय गरिरहेको छन् । स्वीस बैंक र अमेरिकी फेडेरल बैंकले ब्याजदर घटाउँदै लगेकाले पनि सुनको मूल्य निरन्तर बढिरहेको उनको भनाइ छ ।
विश्वव्यापी अर्थशास्त्रीहरुले आगामी २०२५ सम्ममा सुनको मूल्य ३ हजार डलर पुग्ने अनुमान गरेका उनी बताउँछन् ।सोहीअनुसार नेपालको हिसाब गर्ने हो भने नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार पुग्ने अनुमान गर्न सकिन्छ ।
पूर्वअध्यक्ष शाक्यले आगामी ६ महिनासम्ममा सुनको मूल्य १ लाख ५० हजार पुग्ने प्रक्षेपण गरे।
व्यवसायीहरुले २०८० को सुरुवातमै सुनको मूल्य प्रतितोला १ लाख २५ हजार पुग्ने अनुमान गरेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।
SHARE YOUR THOUGHTS