
काठमाडौं । ऋण तिर्ने ग्राहकलाई एनआइसी एशिया बैंकले विषेश छुटको अफर ल्याएको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उदेश्यले २० प्रतिशतसम्म छुट दिने अफर ल्याएको बैंकले जनाएको छ ।
२०८० पुस मसान्तमा प्रचलित नियमनकारी व्यवस्थाअनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले आफ्नो २०८० चैत मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्णरुपमा चुक्ता भुक्तान गर्नुका साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत मसान्तभित्र पूर्णरुपमा चुक्ता भुक्तान गरेमा २०८० चैत मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट र ब्याज रकममा समेत संलग्न तालिकामा उल्लेख भएको योजना बमोजिम छुट प्रदान गर्ने योजना ल्याएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाँले जानकारी दिए ।
मासिक तथा त्रयमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिकरूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकि सेवा प्रदान गर्दै आएको छ ।
स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।