ललितपुर । साझा यातायात सहकारी संस्था लिमिटेडले ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । यसका लागि आवश्यक १ .१ मेगावाट क्षमताको चार्जिङ डिपोट पनि साझाले निर्माण गरेको छ ।
साझा यातायातले नेपालमै पहिलो पटक १ .१ मेगावाट क्षमताको चार्जिङग डिपोट निर्माण गरेको हो । त्यसमा २४ वटा समानान्तर चार्जिङ पोइन्ट रहेको छ ।
चीनबाट आयात गरिएका ४० वटा बस चार्जिङ स्टेसनको अभावमा सञ्चालनमा आउन सकेका थिएनन् । मंगलबार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले डिपोटको उद्घाटन गरे ।
साझा यातायातले आगामी दिनमा डिजेल गाडीलाई रुपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कणकमणि दीक्षितले बताए ।
अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने जनाइएको छ । एक पटक फुल चार्ज गरेपछि २०० किलोमिटरसम्म गुड्न चल्न सक्ने साझाले जनाएको छ ।
साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेको थियो ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी/क्लिकमान्डु
SHARE YOUR THOUGHTS