![](https://internal.appharu.com/wp-content/uploads/2023/05/New-Project-1.jpg)
काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनासम्ममा विदेशी लगानीकर्ताले ४३ अर्ब ७ करोड ४० लाख रुपैयाँको लगानी प्रतिबद्धता जनाएका छन् ।
उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि चैतसम्ममा ३ सय १० वटा नयाँ तथा सञ्चालनमा रहेका उद्योगमा ४३ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
विभागमा चैतसम्ममा विदेशी लगानीकर्ताले २६९ वटा नयाँ उद्योगमा ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाएका हुन् । सोही अवधिमा सेयर पर्चेज एग्रीमेन्ट (एसपीए)/सेयर सब्स्क्रिप्सन एग्रीमेन्ट (एसएसए) गरी ४१ वटा उद्योगमा १२ अर्ब ९७ करोड ४५ लाख रुपैयाँ लगानी प्रतिबद्धता लगानीकर्ताले जनाएका हुन् ।
गत वर्षको तुलनामा चालु आवको ९ महिनाको अवधिमा करिब २ अर्ब कम लगानी प्रतिबद्धता जनाएका छन् । गत आवको चैतसम्ममा ४१ अर्ब २१ करोड २४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका थिए ।
त्यसैगरी चैतमा मात्रै नयाँ र एसपीए र एसएसए उद्योगमा ८ अर्ब ५६ करोड ४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको हो । जसमा १६ वटा नयाँ उद्योगमा ९६ करोड ५० लाख रुपैयाँ र एसपीए र एसएसए ६ वटा उद्योगमा ७ अर्ब ५९ करोड ५४ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबतद्धता जनाइएको हो । तथ्यांकअनुसार गत साउनमा नयाँ उद्योग र सञ्चालनमा रहेका उद्योगमा ११ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
त्यस्तै भदौमा ५ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ, असोजमा ३ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ, कात्तिकमा १ अर्ब ८० करोड ६३ लाख रुपैयाँ, मंसिरमा २ अर्ब ५६ करोड १९ लाख रुपैयाँ, पुसमा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ, माघमा १ अर्ब ११ करोड ६ लाख रुपैयाँ र फागुनमा ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता जनाएका थिए ।
चालु आवको चैतसम्ममा वैदेशिक लगानी प्रतिबद्धता जनाएका उद्योगले १३ हजार ८३४ जनालाघ रोजगारी प्रदान गर्ने विभागले जनाएको छ ।
त्यसैगरी हालसम्ममा विदेशी लगानीकर्ताले नेपालमा ६ हजार १२८ वटा उद्योगमा ४ खर्ब ८० अर्ब ६ करोड ८४ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् । ती उद्योगमा ३ लाख २२ हजार ९१ जनाले रोजगारी पाउनले जनाइएको छ ।
चालु आवको २६९ वटा उद्योग दर्ता हुँदा अधिकांश उद्योग साना लगानीका छन् । विभागअनुसार ९ महिनाको अवधिमा २५३ वटा साना, १३ वटा मझौला र ३ वटा ठूला उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै ९ महिनामा विदेशी लगानीकर्ताले सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता जनाएका छन् । जसमा पर्यटन क्षेत्रमा १२२ वटा उद्योग दर्ता गरेका छन् । पर्यटनपछि सेवा क्षेत्रमा ९३ वटा उद्योग दर्ता गरेका छन् । विभागमा निर्माण क्षेत्रमा ३२ वटा, पूर्वाधार क्षेत्रमा ६ वटा, सूचना तथा प्रविधि क्षेत्रमा ९ वटा, कृषि क्षेत्रमा ५ वटा र खानी क्षेत्रमा २ वटा उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् ।
सवा १३ अर्ब रुपैयाँ विदेश लैजान प्रस्ताव
चैत मसान्तसम्ममा ४३ अर्बको लगानी प्रतिबद्धता जनाउँदा नेपालमा सञ्चालनमा रहेका विदेशी लगानीको उद्योगले सवा १३ अर्ब रुपैयाँ रोयल्टीसहित लाभांश लैजानको प्रस्ताव गरेका छन् ।
विभागअनुसार चालु आवको चैतसम्ममा विदेशी लगानीकर्ताले रोयल्टीसहित लाभांस १३ अर्ब ११ करोड ३५ लाख रुपैयाँ रकम लैजान प्रस्ताव पेस गरेका हुन् ।
चैतसम्ममा रोयल्टीवापत ३ अर्ब ९९ करोड ४६ लाख रुपैयाँ र लाभासंवापत ९ अर्ब ४ करोड ८७ लाख रुपैयाँ विदेश लैजान प्रस्ताव भएको हो । साथै सेवा शुल्कवापत ७ करोड २ लाख रुपैयाँ लैजान विभागमा प्रस्ताव पेस भएको छ ।
त्यसैगरी चैतमा मात्रै सञ्चालनमा रहेका विदेशी उद्योगले रोयल्टी र लाभांस गरेर २० करोड ७७ लाख रुपैयाँ ७७ लाख रुपैयाँ रकम विदेश लैजान विभागमा प्रस्ताव पेस भएको छ ।
SHARE YOUR THOUGHTS