भारतको ठूलो घराना हिरानन्दानी ग्रुपसँग मिलेर बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने « Eglish Khabarhub

भारतको ठूलो घराना हिरानन्दानी ग्रुपसँग मिलेर बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने



काठमाडौं । विश्वकै दोस्रो ठूलो डाटा सेन्टर चलाइरहेको हिरानन्दानी ग्रुपले नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । व्यवसायी बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको हो ।

३ अर्ब लगानीमा बनाइने उक्त डाटा सेन्टरको लागी लगानी सम्मेलनमा सम्झौता हुनेछ ।

आइतबार र सोमबार आयोजना हुन गइरहेको तेस्रो लगानी सम्मेलनमा हिरानन्दानी समूह र बसन्त चौधरीको बिएलसी होल्डिङ्सबीच सम्झौता हुने भएको हो ।

फोब्र्समा सूचीकृत अर्बपति दाजु निरन्जर हिरानन्दानी र भाई सुरेन्द्र हिरानन्दानीको हिरानन्दानी समूह भारतको एक ठूलो तथा प्रतिष्ठित रियल इस्टेट लगानीकर्ता हो । भाई सुरेन्द्र हिरानन्दानीले साइप्रसको नागरिकता लिएका छन् ।

मुम्बईस्थित हिरानन्दानी समूहले मुम्बई, बैंङलोर, चेन्नई, र हैदराबादमा ठूला रियल इस्टेट विकास गरेको छ ।

यसका साथै, समूहले स्वास्थ्य, शिक्षा, ऊर्जा र सेवा क्षेत्रमा आफनो लगानी विविधीकरण गरेको छ । सन् २०२० मा यो समूहले योट्टा इन्फ्रास्ट्रक्चर नामक सहायक कम्पनी सुरु गरेको थियो । मुम्बइस्थित इन्टिग्रेटेड योट्टा डाटा सेन्टर पार्क (योट्टा एनएमवान) विश्वको दोस्रो ठूलो डाटा सेन्टर हो ।

हिरानन्दानी समूहको योट्टा डाटा सर्भिसले नेपालमा पनि बसन्त चौधरीको बिएलसी होल्डिङससँग मिलेर ३ अर्ब रुपैयाँमा डाटा सेन्टरमा लगानी गर्न लागेको हो । यसको समन्वय नेपाल उद्योग परिसंघले गरेको हो ।

बसन्त चौधरी नेपालका प्रतिष्ठित व्यवसायी हुन् । उनले स्थापना गरेकाे नर्भिक अस्पताल प्रख्यात छ ।

‘हामीले डेटा उद्योगमा संभावना देखिरहेका थियौं, विश्वकै दोस्रो ठूलो डाटा सेन्टर सञ्चालन गरिरहेको हिरानन्दानी समूहसँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो,’ बिएलसी होल्डिङ्सका एक उच्च अधिकारीले क्लिकमान्डुसँग भने, ‘यसले नेपालमा डेटा सेन्टरमा ठूलो संभवनाको ढोका खुल्ने निश्चित छ ।’

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले यसरी निजी क्षेत्रले बीटुबी सम्झौता गर्दा सकारात्मक सन्देश जाने बताए ।

‘निजी क्षेत्रले आफ्नो नेटवर्कका लगानीकर्तालाई बोलाएर लगानी सम्मेलनको प्लेटफर्म प्रयोग गर्नु राम्रो हो,’ उपाध्यायले भने– ‘निजी क्षेत्रले गर्ने बीटुबीको विषयमा हामीलाई जानकारी दिइराख्नु पर्ने होइन तर नेपाल र विदेशका निजी कम्पनी गर्ने आपसी सहकार्य गर्नु सकारात्मक हो ।’

Publish on: