
काठमाडौं । व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ।
यही बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने गरेपछि व्यवसायिक उत्पादन थाल्ने तयारीमा छ । यो समूह नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता हो ।
लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाले प्लान्ट गाडी उत्पादनका लागि तयार भइसकेको बताए । ‘सबै आधारभूत कामहरु सकिएको छ । आवश्यक इक्विपमेन्टहरु जडान भइसकेका छन्,’ थपलियाले क्लिकमान्डुसँग भने- ‘बाहिर हरियाली, डेकोरेसन लगायतका कामहरु बाँकी छ । ‘
उनका अनुसार एसेम्ब्लिङ प्लान्टको परीक्षण र पाइलटिङसमेत भइसकेको छ । कम्पनीले प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन गर्ने लक्ष्य बनाएको छ । त्यसपछि बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुनेछन ।
कम्पनीले प्लान्ट नवलपरासीको रामग्राम नगरपालिका-६ मा निर्माण गरेको छ । करिब १० बिघा जग्गामा एसेम्बीङ प्लान्ट फैलिएको छ ।
यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ । ‘गाडीको माग कति हुन्छ, त्यसअनुसार हामी सिफ्ट बनाएर उत्पादन गर्छौं,’ थपलियाले भने- अहिले नै कति उत्पादन गर्ने भन्दा पनि मागअनुसार कति सिफ्ट चलाउने त्यसमा निर्भर हुन्छ ।’


यो प्लान्टबाट १०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन भने २०० जनाभन्दा बढीले रोजगारी पाउने दाबी गरिएको छ । करिब एक वर्षदेखि एसेम्ब्लिङ निर्माणको काम सुरु भएको थियो । प्लान्टका करिब डेढ अर्ब रुपैयाँ खर्चिएको छ ।
मूल्य कति फरक पर्छ ?
गाडी आयात गरेर बेच्नेभन्दा यहि उत्पादन गरेर बेच्दा मूल्य घट्ने महाप्रबन्धक थपलियाको दाबी छ । ‘मूल्यमा फरक पर्छ । सस्तो पक्कै हुनेछ । फाइनान्स डिपार्टमेन्टले त्यसलाई हेरिरहेको छ,’ उनले भने- ‘ल्याएर बेच्ने जस्तो भएन । फ्याक्ट्री मोडालिटीमा गयो । फ्याक्ट्री पनि बाँचिरहनुपर्छ । तर गाडी केहि सस्तो हुन्छ ।’
अहिले भेन्यु गाडीको मूल्य ४० लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । भेन्यु पेट्रोल इन्जिन गाडी हो । यो गाडी २०७६ भदौ पहिलो साता लक्ष्मी ग्रुपले ल्याएर नेपाली बजारमा बिक्री गरिरहेको छ ।
उनले आधुनिक प्रविधिको प्रयोग गरेर प्लान्ट तयार पारेको दाबी गरे । ‘बाहिर जस्तै सबै आधुनिक खालको छ । त्यहाँ ठूलो स्केलमा हुन्छ,यहाँ सानो स्केलमा होला तर प्रविधियुक्त छ,’ उनले भने ।
कोरियन प्राविधिक टिमले यहि बसेर एसेम्ब्लिङ प्लान्ट हेरिरहेको छ । ‘हामीले मात्रै बनाएर हुदैन । कोरियालीहरुले हेर्छन् । उनीहरुको ब्राण्ड नेमको कुरा छ ,’ उनले भने,’हामीले प्लान्टका लागि ल्याएका सामानहरु समेत उनीहरुले हेरेका छन् ।’ गाडी उत्पादनका लागि चाहिने सामानहरु समेत कम्पनी ल्याउन थालेको छ ।
उनले यो एसेम्ब्लिङ प्लान्ट टेक्नोलोजी ट्रान्सफर्मरको उदाहरण भएको बताए ।
‘संसारका सबै देशमा गाडी उत्पादनका लागि प्लान्ट राखिएका हुन्छन । यो सकारात्मक विषय हो’ उनले भने- ‘यहाँ रोजगारी बढ्छ । चार/पाँचवटा पार्ट्स र मेटरियलहरु यहि बन्न सक्छ । यो हामी सबैका लागि राम्रो विषय हो । ‘
SHARE YOUR THOUGHTS