![](https://internal.appharu.com/wp-content/uploads/2023/12/20-bank-nrb.png)
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले १० महिनामा ५३ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ५३ अर्ब १९ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरूले चैत मसान्तसम्ममा ४४ अर्ब ६७ करोड रूपैयाँ खुद मुनाफा गरेका थिए । १ महिनामा उनीहरूले साढे ८ अर्ब नाफा गरेका हुन् । गत आवको १० महिनामा उनीहरुले ६२ अर्ब ६० करोड नाफा गरेका थिए । गत आवको तुलनामा बैंक तथा वित्तीय संस्थाको नाफा ९ अर्बले घटेको हो ।
यस अवधिमा सबैभन्दा बढी कमाउने बैंक नबिल हो । वैशाख मसान्तसम्म नबिलले ५ अर्ब ४६ करोड रुपैयाँ कमाउँदा ग्लोबल आईएमई दोस्रो स्थानमा छ । ग्लोबल आईएमईले १० महिनामा ४ अर्ब १२ करोड नाफा गरेको छ ।
नबिल र ग्लोबल आईएमईलाई नेपाल इन्भेस्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंकले पछ्याइरहेका छन् । यी दुई बैंकको खुद मुनाफा ३ अर्ब बढी छ । एनआईएमबीले १० महिनामा ३ अब ७७ करोड कमाउँदा प्राइमको आम्दानी र खर्चको अन्तर ३ अर्ब २२ करोड छ ।
यस अवधिमा शीर्ष ५ मा परेको बैंक एभरेष्ट हो । एभरेष्टको खुद मुनाफा २ अर्ब ९८ करोड छ ।
कृषि विकास, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य, प्रभु, एनएमबि, हिमालयन र एनआईसी एशिया पनि २ अर्बभन्दा बढी कमाउनेको सूचीमा परेका छन् ।
१० महिनामा सबैभन्दा कम खुद मुनाफा नेपाल बैंकको छ । बैंकले ५९ करोडमात्र नाफा गर्दा पुच्छरबाट दोस्रोमा माछापुच्छ्रे बैंक १ अर्ब १० करोड रुपैयाँ खुद मुनाफासहित छ ।
१० महिनामा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ६० करोड छ । उनीहरूले वैशाखमा मात्र करिब ८ अर्ब रूपैयाँ खुद मुनाफा गरेका हुन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/दबलप-उचयाषतd.jpg)
मुक्तिनाथ र मञ्जुश्री अब्बल
विकास बैंकहरुमा सबैभन्दा नाफा कमाउने बैंक हो, मुक्तिनाथ । बैंकले १० महिनामा ९९ करोड खुद मुनाफा गर्दा दोस्रो बढी नाफा गरिमा विकास बैंकले गरेको छ । बढी नाफा गर्नेका आधारमा शाइन रसुंगा, महालक्ष्मी र कामना शीर्ष ५ मा छन् ।
यस्तै वित्त कम्पनीहरुतर्फ सबैभन्दा नाफा कमाउने कम्पनी मञ्जुश्री हो । कम्पनीको १० महिनाको नाफा २० करोड छ ।
१० महिनाको विवरणअनुसार ५ विकास बैंक र ७ वित्त कम्पनी घाटामा छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/06/DB-and-FC.jpg)
SHARE YOUR THOUGHTS