मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैदेशिक रोजगारीको लागि वास्तविक लागतका आधारमा सेवा शुल्क निर्धारण गर्न व्यवसायीहरुको माग


उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल भन्छन्- ‘वैदेशिक रोगजार व्यवसायी कम्पनीले सेवा शुल्क पाएनन् भने पारदर्शी हुँदैन । वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरुलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोकेन भने नारामा मात्रै सीमित हुनेछ ।

काठमाडौं । व्यवसायीहरुले वैदेशिक राजगारीमा जान लाग्ने वास्तविक लागतका आधारमा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२औं स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधरणसभामा बोल्दै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संघका अध्यक्ष भण्डारीले सरकारसँग यस्तो माग राखेका हुन् ।

व्यवसायीहरुले निःशुल्क रुपमा कुनै पनि व्यवसाय नगर्ने भएको भन्दै सरकारले व्यवसायमा सेवा शुल्क निर्धारण गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकारले वैदेशिक रोजगार व्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको औंल्याएका थिए ।

वैदेशिक रोजगार व्यवसाय मर्यादित,व्यवस्थित र पारदर्शी बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले पछिल्लो समय १२ खर्ब बढी मुलुकमा रेमिट्यान्स भित्रिनुको श्रेय वैदेशिक रोजगार व्यवसायलाई दिनुपर्ने बताएका थिए । अध्यक्ष ढकालले वैदेशिक रोगजार व्यवसायी कम्पनीहरुले सेवा शुल्क लागू नभए व्यवसाय पारदर्शी हुन नसक्ने पनि बताएका थिए ।

यस्तै वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरुलाई व्यवस्थित गर्नको लागि सरकारले सेवा शुल्क तोक्न आवश्यक रहेको उनको अडान थियो । सरकारले धेरै नयाँ ठाउँहरुमा रोजगारीका गन्तव्यहरु खुला गरेको भनिए पनि ती गन्तव्यहरु निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको अध्यक्ष ढकालको दाबी थियो ।

अध्यक्ष ढकालले भने,‘वैदेशिक रोगजार व्यवसायी कम्पनीहरुले सेवा शुल्क लिन पाएनन् भने पारदर्शी हुँदैन । वैदेशिक रोजगार क्षेत्रका सबै कुराहरुलाई रेगुलेट गर्नको लागि सरकारले सेवा शुल्क तोकेन भने नारामा मात्रै सीमित हुनेछ । पछिल्लो समय बजारमा वैदेशिक व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । सरकारले धेरै नयाँ ठाउँहरुमा रोजगारीका गन्तव्यहरु खुलाउनु भएको छ । नयाँ–नयाँ देशहरुमा श्रम गन्तव्यको सुरुवात सरकारले भन्दा पनि निजी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी संघले गरेको छ ।’

यस्तै वैदेशिक रोजगार सम्बन्धी व्यवसायलाई सरकार र अन्य क्षेत्रले मर्यादित बनाउने भन्दा पनि व्यवसायी आफैँ सीमाभित्र बसेर काम गरेको खण्डमा यो क्षेत्र आफैं पारदर्शी र व्यवस्थित हुने उनको ढकालको तर्क थियो । यस्तै पछिल्लो समय १२ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिनुमा वैदेशिक रोजगार व्यवसायलाई त्यसको श्रेय जाने उनको धारणा थियो ।

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई सरकारको स्पष्ट नीति नभएकाले नीति अनरुप पाउन नसकिएको बताए । उनले सरकारले फ्रि भिसा,फ्रि टिकटको नारा र नीति लिए पनि त्यो अनुरुप वैदेशिक रोजगारीमा पठाउन नसकिएको स्विकार गरेका छन् ।

साथै सरकारले फ्रि भिसा,फ्रि टिकटको नीति हचुवाको भरमा बनाएको उनको आरोप थियो । र यस्ता प्रावधानलाई श्रमिकको हितमा राखेर नीति बनाउन आवश्यक रहेको भण्डारीको भनाइ थियो । उनले वैदेशिक रोजगार व्यवसायीको लागि सरकारले सेवा शुल्क निर्धारण गर्न आवश्यक रहेको पनि बताए ।

वैदेशिक रोजगार व्यवसायीको लागि सरकारले सेवा शुल्क निर्धारण गर्दा व्यवसाय पारदर्शी र मर्यादित हुने व्यवसायीहरुको भनाइ थियो । तर मागपत्र प्रमाणिकरण नगर्दा बेथिति मौलाएको पनि उनीहरुको गुनासो छ ।