![](https://internal.appharu.com/wp-content/uploads/2024/07/bhansar-bibhag-and-dhundi.png)
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादीको सत्ता गठबन्धन समस्यामा परेपछि भन्सार विभागका महानिर्देशक ढुण्डी निरौलाले हतार-हतार भन्सार अधिकृत सरुवा गरेका छन् ।
७ महिनाअघि भन्सार कार्यालयबाट विभागमा सरुवा भएका अधिकृतहरुलाई रसुवा र बीरगञ्ज भन्सारमा सरुवा गरेका हुन् ।
भन्सार विभागमा लामो समयदेखि बसिरहेका अधिकृतहरुले आफूहरुलाई कुनै जिम्मेवारी नदिई महानिर्देशक निरौलाले निरन्तर ठूला भन्सार कार्यालयहरुमा बसिरहेका कर्मचारीलाई जिम्मेवारी दिएको भन्दै अर्थ मन्त्रालयको प्रशासन महाशाखामा गुनासो गरेका छन् ।
मिलेमतोमा सरुवा गरेको गुनासो आएपछि राजस्व सचिव रामप्रसाद घिमिरेले महानिर्देशक निरौलासँग यस विषयमा सोधेका छन् ।
अर्थ मन्त्रालयको प्रशासन महाशाखाका एक अधिकारीले भन्सार विभागमा भएको सरुवाका विषयमा केही अधिकृतले गुनासो गरेको र राजस्व सचिवले महानिर्देशक निरौलासँग सोधपुछ गरेको पुष्टि गरे ।
‘सामान्य प्रशासन मन्त्रालयबाट पनि नियमित सरुवा हुने १ महिनाअघि निरन्तर कार्यालय बसिरहेका अधिकृतको किन सरुवा भयो ? भन्ने चासो राखिएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘भन्सारका कर्मचारीहरुले पनि महानिर्देशकले गलत गरेको गुनासो गरिरहेका छन् ।’
विभागका महानिर्देशक निरौलाले आफूले कानुन अनुसार रिक्त ठाउँमा कर्मचारी पदस्थापन, सरुवा र कामकाजमा लगाएको दाबी गरे ।
‘आफ्नो अनुकुल भएन भने केही कर्मचारीले गुनासो गरेका होलान्,’ निरौलाले क्लिकमान्डुसँग भने- ‘रसुवा भन्सार कार्यालयमा अनुगमनमा जाँदा कर्मचारी अभाव भएको पाएका थियौं । कर्मचारी अभाव भएको देख्दा महानिर्देशक चुप लागेर बस्तु त भएन नि !’
निरौलाले गत चैत १४ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।
अर्थमन्त्री वर्षमान पुनले शोभाकान्त पौडेललाई हटाउँदै निरौलालाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।
साउनमा अधिकृत र भदौमा उपसचिव सरुवाको सुची बनाईरहेका निरौलाले सत्ता गठबन्धन फेरिन सक्ने संकेत पाएपछि गत आइतबार ३ जना अधिकृतको काज सरुवा गरेको अर्थ मन्त्रालयका अधिकारीको आरोप छ ।
साउनमा नियमित सरुवा गर्दासम्म सरकार परिवर्तन हुन सक्ने र आफ्नो जिम्मेवारीसमेत फेरिने डरले नियमित सरुवा गर्नुभन्दा १ महिनाअघि काज सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।
भन्सार विभागका अधिकारीका अनुसार महानिर्देशक निरौलाले लक्ष्मण बास्तोला र हंस रावललाई रसुवा भन्सारमा काज सरुवा गरेका हुन् । गत चैतदेखि रसुवामा ३ जना अधिकृत रिक्त रहेको थियो ।
‘हामीले लामो समयदेखि कार्यालय नबसेका तथा साना कार्यालयबाट आएका कर्मचारीलाई रसुवा बीरगञ्ज जस्ता ठूला कार्यालयमा पठाउनु पर्छ भनेका थियौं,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने , ‘डिजीसा’बले मनमानी रुपमा काज सरुवा गरेको विषय आएको छ ।’
महानिर्देशक निरौलाले ७ महिनाअघि २ वर्षे कार्यकाल पुरा गरेर तातोपानी भन्सारबाट सरुवा भएर विभाग आएका बास्तोला तथा ७ महिनाअघि नै बीरगञ्जबाट विभाग आएका रावललाई रसुवा पठाएका हुन् ।
‘ठुला कार्यालय नगएका कयौं साथी विभागमा हुनुहुन्छ । यदि कुनै मोलमोलाई नगरी पठाउने हो भने कयौं साथीहरु जान तयार हुन्थे,’ विभागका एक भन्सार अधिकृतले भने, ‘डिजीसा’बले हामीसँग सिधा प्रस्ताव नगरेकाले जान नपाएका हौं ।’
यस्तै, आइतबारको मितिमा महानिर्देशक निरौलाले तातोपानी भन्सारबाट विभाग आएका अर्जुन कार्कीलाई बीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका छन् । कार्की नायब शुब्बाबाट बढुवा हुँदै अधिकृत बनेका हुन् । नायब शुब्बामा निरन्तर ठूला कार्यालय बसेकाले नियमित सरुवा हुने १ महिनाअघि काज सरुवा गर्नु शंकास्पद भएको विभागका कर्मचारीहरु बताउँछन् ।
महानिर्देशक निरौलाले रसुवा भन्सारमा सरुवा गरेका बास्तोलाले आइतबार (हिँजो) हाजिर गरेका छन् । रावल भने अझै कार्यालयमा हाजिर नभएको स्रोतले जानकारी दियो ।
रसुवा भन्सारमा एकजना अधिकृत सेवानिवृत्त भएर २ जनाको नियमित सरुवा भएर चैतदेखि ३ जना रिक्त थियो ।
‘असार कामको प्रेसरहुने महिना पनि होइन । अहिले कर्मचारीको काज सरुवा गर्नु पर्ने अवस्था थिएन,’ अर्थमन्त्रालयका अधिकारीले भने, ‘यदि काज सरुवा गर्नै परेको भए पनि निश्चित मापदण्ड बनाएर कर्मचारी सरुवा गर्नु पर्ने थियो । नियमित सरुवा हुने साउन भन्दा १ महिनाअघि पटक पटक ठूला कार्यालयमा बसेका कर्मचारीलाई सरुवा गर्नुलाई स्वाभाविकरुपमा शंकाको दृष्टिले हेर्न मिल्छ ।’
SHARE YOUR THOUGHTS