![](https://internal.appharu.com/wp-content/uploads/2024/07/ph-3-1-768x375.jpg)
विराटनगर । हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) विराटनगरको हिमगिरी हाइजिन उद्योगको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । यो उद्योगले विगत १८ वर्षदेखि धोनी ब्राण्डको सावुनसहित स्याम्पु, ब्यूटी सोप, ट्वाइलेट सोप, डिटरजेन्ट पाउडर, सेनिटाइजर र माक्स लगायतका दैनिक उपभोग्य वस्तुको उत्पादन गर्दै आयतलाई प्रतिस्थापन गर्दै आएको छ ।
उद्योगका अध्यक्ष महेश जाजु र प्रबन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीलाई शनिवार उद्योगको ब्राण्ड एम्बेसडर नियुत्त गर्दै उद्योगबाट उत्पादन हुने उपभोग्य वस्तुको गुणस्तरमा अझै सुधार गर्दै हाल भारत र भुटानतर्फ निकसी भइरहेकोमा आगामी दिन यूरोप र अफ्रिकी मुलुक तर्फ पनि निकासी गर्नेबारे अध्ययन गर्ने बताए ।
विगतमा सामाजिक सन्देश भएका विज्ञापनमा खेल्ने गरे पनि पछिल्लो समय आफूहरु स्वदेशी उत्पादनको प्रवर्द्धनका लाागि व्यवसायिक प्रचार प्रसारमा संलग्न भएको मदनकृष्ण श्रेष्ठले बताए ।
उद्योग र उत्पादित वस्तुको गुणस्तरलाई आधार मानेर आफूहरु औधोगिक उत्पादनको प्रवर्द्धनका लागि व्यवसायिक प्रचार प्रसारमा सहभागी भएको बताउँदै उनले उद्योगको उत्पादनको गुणस्तरमा गुनासो आएर बीचैमा सम्झौता तोड्न आफूहरु तयार रहेको बताए ।
औधोगिकीकरणको सुरुवात भएको विराटनगरको यो उद्योगको ब्राण्ड एम्बेसडर हुन पाएकोमा आफूहरु उत्साहित भएको उल्लेख गर्दै कलाकार आचार्यले निजी क्षेत्रले खोलेका उद्योगले सृजना गरेको रोजगारीले लाखौं युवालाई विदेशीनबाट रोकेको वताए ।
‘देश गरिब भए पनि छोरा छोरी र श्रीमती मजदूरीका लागि अरब पुगेकाले हामीहरु अरबपति भएका छौं,’ आचार्यले भने ।
उनले उद्योगीकाको हातमा सुन भएको उल्लेख गर्दै यस्ता उद्योग मुलुकभरी खोलेर रोजगारीका अवसर सृजना गरेर युवा युवतीलाई विदेशीनवाट रोक्न निजी क्षेत्रसँग आग्रह गरे ।
‘सरकारले रोजगारी दिन नसक्दा युवायुवती विदेशीएका छन् । सरकारको हातमा ब्याक्टेरिया नै भए झै उसले जे छोयो त्यही नष्ट हुने गरेको छ,’ आचार्यले भने, ‘सरकारले सञ्चालन गरेको राजनीतिक उद्योग मात्र फष्टाएको छ, अरु सबै नष्ट छ ।’ उनले सरकार विदेशबाट आउने रेमिट्यान्स गन्नमा मात्र सीमित भएको उनले आरोप लगाए ।
मुलुकलाई स्याम्पु, सावुन र डिटरजेन्ट पाउडरमा आत्मनिर्भर बनाउन आगामी दिनमा उद्योगमा थप एक अर्ब लगानी गर्ने र सयौं युवायुवतीलाई रोजगारी दिने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले जानकारी दिए ।
SHARE YOUR THOUGHTS