काठमाडौं महानगरले विपद् प्राधिकरणको जग्गा हडपेपछि… « Eglish Khabarhub

काठमाडौं महानगरले विपद् प्राधिकरणको जग्गा हडपेपछि…



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जग्गा काठमाडौं महानगरपालिकाले अतिक्रमण गरी स्केट बोर्ड पार्क निर्माण थालेको छ । महानगर वडा नं. ३१ आलोकनगरमा रहेको कुल १० रोपना ८ आना जग्गा महानगरले हडपेर खेल्ने ठाउँ बनाउन थालेको हो ।

महानगरले बिना कुनै जानकारी र प्रक्रिया विपद् प्राधिकरणको नाममा रहेको सो जग्गामा स्केट बोर्ड पार्क बनाउन थालेपछि विवाद सीडीओ कार्यालयसम्म पुगेको हो । तत्कालीन भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको सक्रियतामा भुमाफियाको कब्जामा रहेको जग्गा उकासिएकोमा सो जग्गामा महानगरको आँखा लागेको हो । काठमाडौं महानगरले सो जग्गामा स्केट बोर्ड पार्क निर्माणका लागि सानु सुवाल–पवन जेभीलाई ठेक्का सुम्पिएको छ । महानगर र निर्माण कम्पनीबीच जेठ २९ गते भएको सहमती अनुसार पार्क निर्माण कार्य २०८२ असार ३२ मा सकिँदैछ । पार्क बनाउन महानगरले कुल ६ करोड ७१ लाख रुपैयाँ खर्च गर्दैछ ।

पार्क बनाउन भनी निर्माण व्यवसायी सानु सुवाल–पवन जग्गा बारेर जेभीले बोर्ड राखेपछि विवाद सतहमा आएको हो । निर्माण व्यवसायीले बोर्ड राखेपछि विपद् प्राधिकरणले आफ्नो लापुर्जासहितको बोर्ड जग्गामा राखेको छ । प्राधिकरणले राखेको बोर्डमा लालपूर्जाको फोटोसहित ‘प्राधिकरण भवन निर्माण स्थल’ लेखिएको छ ।

यतिमात्र होइन, प्राधिकरणले प्रमाणसहित काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत हालेको छ । काठमाडौं सीडीओ कार्यालयलाई सुरक्षाको लागि भन्दै पत्र लेखिएको हो ।

प्राधिकरणका प्रवक्ता डा. दिजन भट्टराईले नेपाल सरकारको लालपूर्जा भएको जग्गामा प्राधिकरणको भवन बनाउने तयार थियो । तर, महानगरले कुनै जानकारी र सहकार्य मिचाहपूर्ण तबरले स्केट बोर्ड पार्क बनाउन लागेपछि सीडीओ कार्यालयलाई जानकारी गराएको बताए ।

न्यु रोडमा फुटपाथ बनाउने विषयको विवाद सेलाउन नपाउँदै महानगरपालिका र संघीय सरकारबीच विवाद सिर्जना भएको हो । विपद् प्राधिकरण गृह मन्त्रालय अन्तर्गतको निकाय हो । सो जग्गा स्थानीय व्यक्तिहरुको पहलमा तत्कालीन भुमी व्यवस्था मन्त्री पद्मा अर्यालको पालामा सरकारी कायम गरेर मन्त्रिपरिषदबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा कायम भएको थियो ।

प्राधिकरणले उक्त जग्गामा घेराबार समेत गरेको थियो । विपद पूर्वतयारी तथा उद्दार तथा राहतको लागि आवश्यक स्वयंसेवक विकास केन्द्र, दमकल सहितको अन्य विपद् पुर्वाधार तथा उपकरण सहितको बहुउद्देश्यिय केन्द्र निर्माण गर्ने लक्ष्य प्राधिकरणको छ । हाल बजेट अभावका कारण उक्त योजना कार्यान्वयनमा भने केही ढिलाइ भएको छ ।

सा जग्गामा वडा नं. ३१ ले महानगरको बजेट मार्फत बृहत् स्केट पार्क निर्माण गर्ने गरी काम अघि बढाएको हो । सो जग्गा प्राधिकरणको नाममा भएपनि वडा नं. ३१ ले पटक पटक आफूखुसी काम गर्न गरेको थियो । केही महिना अघिमात्रै उक्त स्थानमा सःशुल्क महोत्सप आयोजना गरिएको स्थानीय बताउँछन् ।

Publish on: