![](https://internal.appharu.com/wp-content/uploads/2024/07/krishna-man-pradhan-768x467.jpg)
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानबारे निर्णय लिन संघीय संसद्को संसदीय सुनुवाइ समिति बैठक बिहान साढे ११ बजे बस्ने भनिएको बैठक साँझ ५ बजेसम्मका लागि सारिएको थियो।
यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको थियो । तर समितिले निर्णय नगर्दै प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।
प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन्।
पीडितले आफूसँग प्रधानले विभिन्न प्रलोभन देखाउँदै मर्निङ वाकका बेला बोलाएर यौन सम्पर्क राखेकोदेखि अश्लील फिल्म देखाएर सम्पर्क राखेको आरोप संसदीय समितिमा दिएकी थिइन् । आफू जाहेरीका लागि प्रहरीमा गए पनि प्रधानको पहुँचका कारण अघि बढाउन नसकेकाले यौन दुर्व्यवहारको मुद्दा लिएर जिल्ला अदालतमा गएको बताएकी थिइन् ।
सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतले निरुपण गरिसकेको बताएका थिए ।
यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने सांसदहरुको भनाइ थियो भने उनको चौतर्फी आलोचना भएको थियो ।
उनले आफू निर्वाचन आयुक्त पदमा सिफारिस भए पनि बाहिर आफ्नाबारे दुष्प्रचार गरिएकाले सिफारिस गरिएको पदमा रहेर काम गर्ने हौसला र इच्छा नरहेको उल्लेख गरेर संसदीय सुनुवाइ समितिमा निवेदन दिएका छन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/07/image-46-534x768.png)
SHARE YOUR THOUGHTS