
काठमाडौं । मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रञ्जन खड्कालाई प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । उक्त घटनामा यसअघि विनोद थापा र सविता थापा अधिकारीलाई पक्राउ गरेको थियो ।
प्राध्यापक विष्टको २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट मृत्यु भएको थियो । सबितालाई जिस्काएको निहुँमा विष्टमाथि आक्रामण भएको थियो । विष्टको हत्यामा संलग्न भएको आरोपमा १७ वर्षपछि पक्राउ गरेको हो ।
पक्राउ परेका खड्का काठमाडौं महानगरपालिका- ३२ बस्ने वर्ष ३९ का रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले बताए ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट साउन १५ गते पक्राउ गरिएको हो । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि सविता थापा र विनोद थापालाई पक्राउ गरेको थियो ।
खड्का र भक्तपुरको मध्यपुर ठिमी लोकन्थली बस्ने राजिव पाण्डे सहितको समूहले रड र ईट्टा प्रहार गरी घाइते बनाइ बेहोस अवस्थामा छोडी फरार रहेकोमा उनको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।
बिष्टले आफूलाई बारम्बार जिस्क्याउने गरेकोको कुरा भाई विनोद थापालाई भनेको र दिदीको कुरा सुनिसकेपछि विनोदले आफ्ना साथीहरुलाई सोबारेमा कुरा गरी हत्याको योजना तयार पारेका थिए ।
सविता थापा नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको अध्यापक विष्टसँग चिनजान भएको थियो ।
सविताका भाइ विनोद थापा २०७१ पुस ३ गते लागु औषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अध्यापक विष्ट हत्यामा समेत संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल सजाय काटेर २०७९ असोज ३ गते रिहा भइसकेका छन् ।
SHARE YOUR THOUGHTS