काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले मुलुकको आर्थिक उन्नयनमा सघाउन पुँजी बजारको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताए ।
निम्ब एस क्यापिटलको १२ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिका कामलाई नियमित तथा व्यवस्थित गर्नका साथै वित्त व्यवस्थापन कम्पनीका समस्या समाधान गर्न सेबोन प्रतिबद्ध रहेको बताए ।
गत साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि पुँजी बजारलाई गतिशील तुल्याउने नीति अङ्गीकार गरेको बताउँदै उनले संस्थागत शेयर धितो कर्जामा अधिकतम सीमा खारेज हुन सकारात्मक भएको बताए । संस्थागत शेयर धितो कर्जामा हाल कायम २० करोडको सीमा खारेज भएको छभने शेयर कर्जामा व्यक्तिलाई १५ करोडको सीमा तोकिएको छ ।
पूर्वमुख्यसचिव विमल कोइरालाले लगानीकर्तालाई लाभांश दिने, उनीहरूको विश्वास जित्ने, बजार विस्तार गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिए । उनले धितोपत्र कारोबार प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउनुपर्नेमा जोड दिए ।
निम्ब एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले पूँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरू देशको आर्थिक विकासका निम्ति क्रियाशील रहेका बताउँदै धितोपत्र बजार स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्तामैत्री बन्नुपर्ने बताए ।
SHARE YOUR THOUGHTS