कर्जा खरिदबिक्रीको जोखिमभार १०० बाट २०% मा झर्‍यो, पुँजीकोष सकसबाट हल्का राहत मिल्ने « Eglish Khabarhub

कर्जा खरिदबिक्रीको जोखिमभार १०० बाट २०% मा झर्‍यो, पुँजीकोष सकसबाट हल्का राहत मिल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा खरिद बिक्री गर्न सजिलो बनाइदिएको छ भने पुँजीकोषको दबाबबाट पनि राहत मिल्ने भएको छ । केन्द्रीय बैंकले सेयर खरिद बिक्री गर्दा कन्टिन्जेन्ट लायलिबिलिटी (आकस्मिक दायित्व) लाई पुँजीकोष गणना प्रयोजनका लागि २० प्रतिशतमात्र जोखिम भार प्रदान गर्नुपर्ने व्यवस्था गरेको हो ।

हाल यस्तो प्रयोजनको जोखिम भार १०० प्रतिशत थियो । यससँगै अब बैंकहरुलाई कर्जा खरिद बिक्री गर्न निकै सजिलो भएको छ । उनीहरुले ५ गुणा बढी कर्जा किनबेच गर्न पाउनेछन् ।

यता उनीहरुलाई पुँजीकोषको सकसबाट पनि राहत मिल्नेछ । यस्ता कर्जाको जोखिम भारत १०० प्रतिशत हुनाले बैंकहरूको जोखिम भारित सम्पत्तिको परिमाण केही बढी थियो । जोखिम भार पाँच भागको एकमा झर्नाले कुल जोखिम भारित सम्पत्तिमा यस्ता सम्पत्तिको हिस्सामा पनि घट्नेछ ।

बैंक तथा वित्तीय संस्थाले यसरी कर्जा खरिद/बिक्री गर्दा कथंकदाचित खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुनः आफैंले खरिद गर्ने शर्त रहेको अवस्थामा बिक्रीकर्ता संस्थाले त्यस्तो कर्जा पुनरखरिद नगरुञ्जेल आकस्मिक दायित्वको रुपमा आफ्नो वित्तीय विवरणको सम्भावित दायित्व र लेखासम्बन्धी टिप्पणीको अनुसूचीमा देखाउनुपर्छ । अब यस्तो दायित्वलाई २० प्रतिशतमात्र जोखिम भार हुने भएको हो ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।

Publish on: