![](https://internal.appharu.com/wp-content/uploads/2024/08/lekha-samiti_kulman.png)
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङमाथि छानबिन गर्ने निर्देशन दिने तयारी गरेको छ ।
आइतबार १ बजे लेखा समितिको बैठक बस्दैछ । स्रोतका अनुसार नेपाली कांग्रेका सांसदहरुले माने कुलमानमाथि छानबिनका लागि सरकारलाई निर्देशन दिने तयारी छ ।
सभापति ऋषिकेश पोखरेलले अघिल्लो बैठकमा नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, केन्द्रिय अनुसन्धान ब्युरो (सीबीआई)लाई लेखि पठाउने निर्णय गर्ने तयारी गरेका थिए । तर सांसदहरुले हतारमा कुनै निर्णय नगरौं भनेपछि उनी ब्याक भएका थिए ।
उद्योगी र प्राधिकरणबीच चलिरहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा लेखा समितिले निकास दिने भन्दै छलफल गरिरहेको छ ।
‘ट्रान्सफर्मर खरिदका विषय छानबिन गर्न तयारी छ । ऊर्जा मन्त्रीले समेत आफैंले प्रस्ताव लैजानुभन्दा लेखा समितिले पठायो भने मन्त्रिपबाट निर्णय गर्न सजिलो हुने बताएपछि नयाँ रणनीति बनेको हो,’ स्रोतले भन्यो, ‘नेपाली कांग्रेसका सांसदहरुले साथ दिएभने आजै निर्णय हुन्छ ।’
लेखा समितिले उद्योगी र प्राधिकरणसँग छुट्टा छुट्टै राखेर छलफल गरेको थियो । त्यसपछि एकै ठाउँमा राखेर छलफल गर्यो । छलफलका क्रममा लेखा समितिमा सभापति कुलमान र प्राधिकरणमाथि खनिएका थिए । उनले प्राधिकरणले कागजी नाफा कमाएको समेत बताए ।
उद्योगीहरुले फर्जी बिल भएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । उनीहरुले टाइम्स अफ डे मिटरिङ (टिओडी) को डेटा मागिरहेका छन् । उनीहरुले लोड प्रोफाइलसहितको डेटा दिएमात्रै बक्यौता तिर्ने बताउँदै आएका छन् ।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने टिओडी मिटरको डेटा दिएको दाबी गर्दै आएका छन् ।
लेखा समितिका सभापतिले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौतामध्ये १६ अर्ब रुपैयाँ छुट दिएको भन्दै छानबिन हुनुपर्ने बताउँदै आएका छन् । सरकारले ६ अर्ब ६० करोड रुपैयाँ बक्यौता उठाउन निर्देशन दिएको भन्दै प्राधिकरणले उद्योगीहरुलाई पत्राचार गरेको थियो ।
SHARE YOUR THOUGHTS