![](https://internal.appharu.com/wp-content/uploads/2024/08/iccnepal.jpg)
काठमाडौं । १ सय ७० देशका करिब ४ लाख ५० हजार सदस्य भएको अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले राजेशकाजी श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
होटल सोल्टीमा भएको सभामा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा आकर्षित गर्नुका साथै नेपालबाट निर्यात प्रवर्द्धन र पर्यटन प्रवर्द्धनको क्रममा परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि राष्ट्रिय समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा उनले जोड दिएका थिए ।
‘सबैका लागि शान्ति, समृद्धि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ । तटस्थता र स्वतन्त्रता आइसीसीका यस्ता निर्धारक क्षमताहरु हुन् । जसले विश्वभरका नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थाहरुसित सम्बन्ध विकास गर्न मद्दत गर्दछ,’ नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने ।
यसैबीच आइसीसी नेपालको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसिएट कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल र पदेन उपाध्यक्षमा राजेन्द्र मल्ललाई चयन गरेको छ ।
यस्तै मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् । यसैगरी महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् ।
नयाँ कार्यसमिति सदस्यहरुमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ र पोषक राज पौडेल निर्वाचित भएका छन् ।
सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापना भएको आइसीसी विश्वका व्यवसायीहरुको सर्वोच्च संस्था मानिन्छ ।
SHARE YOUR THOUGHTS