
काठमाडौं । प्रतिनिधि सभामा हिंसा शब्दको प्रयोग गरेपछि एकीकृत माओवादीको निशानामा परेका नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि लगाइएको आरोपको जवाफ दिन तयार रहेको प्रष्टीकरण दिएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा माओवादी सांसदहरुले ‘जनयुद्ध’ को बेला हातहतियार तस्करी गरेको प्रश्न उठिरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने बताएका थिए ।
‘हिजो एमालेका एक माननीयले माओवादी जनयुद्धको विषयमा अभिव्यक्ति दिनुभयो । संसद्को सामान्य मान पनि नराखी माओवादीको अपमान गर्दै असंवैधानिक अभिव्यक्ति दिनुभयो । उहाँको अभिव्यक्तिले उहाँ फेरि देशलाई द्वन्द्वमा फसाउन चाहनुहुन्छ भन्ने मनशाय देखाउँछ,’ सांसद छिरिङ ल्हामु लामा तामाङले भनिन्, ‘उहाँको विषयमा एक माननीयले हातहतियार ओसारपोसार गरेको आरोप लगाउनुभएको छ । उहाँ सधैँ विवादमा आइरहनुहुन्छ । नारायणहिटीको बतास कान्डदेखि हातहतियार ओसारपोसार गरेको विषयमा उहाँमाथि छानबिन गर्नुर्छ ।’
केही महिनाअघि मात्रै पूर्वमन्त्री एवं एमालेका पूर्वनेता तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले सार्वजनिक स्थलमै योगेश भट्टराईलाई हातहतियार तस्करको आरोप लगाएका थिए । आलेको उक्त आरोपका आधारमा बिहीबार माओवादी सांसद छिरिङ ल्हामु लामाले छानबिन गर्नुपर्ने बताएकी हुन् ।
माओवादीका अर्का सांसद छिरिङ डन्डु लामा भोटेले पनि सांसद भट्टराईप्रति लक्षित गर्दै उनले माओवादी युद्धको समयमा हातहतियार तस्करी गरेको र चन्दा संकलनको नाइके नै रहेको आरोप लगाए ।
भट्टराईले माओवादी हिंसा भनेको विषयले सामाजिक सञ्जालमा पनि बहस भइरहेको छ । माओवादीले गरेको शसस्त्र द्वन्द्वमा मानिसहरु मारिएकोले त्यलाई हिंसा भन्न कुनै आपत्ति नरहेको तर्क एमाले कांग्रेस समर्थकले गरिरहँदा माओवादी समर्थकले भने संविधानले नै जनयुद्धलाई स्वीकार गरेको भन्दै हिंसा शव्दको प्रतिवाद गरिरहेका छन् ।
आफूमाथि माओवादी सांसदहरुले आरोप लगाएपछि भट्टराईले सामाजिक सञ्जालबाट त्यसको प्रतिवाद गरेका हुन् ।
भट्टराईले लेखेका छन्-
‘निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने
सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने
जनताको सम्पत्ति लुटने
बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाऊने
रक्तचन्दनको तस्करी गर्ने
गिटी बालुवाको तस्करी गर्ने
तिमीहरुका यी कुकर्मको एक ठाऊँमा मात्र जवाफ देऊ
तिमीले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झुट आरोपको हजार ठाऊँमा जवाफ दिन तयार छु ।
तिम्रा धम्की र फरेबले मेरो इमान डगमगाउने छैन।
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन।
चेतना भया !’
SHARE YOUR THOUGHTS