नेपालमा जता हेर्‍यो त्यतै अवसर छ: महासंघ अध्यक्ष ढकाल « Eglish Khabarhub

नेपालमा जता हेर्‍यो त्यतै अवसर छ: महासंघ अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् ।

शुक्रबार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको तर नेपालमा केही पनि सम्भावना छैन भन्ने भाष्य सिर्जना गरिएकोमा आपत्ति जनाएका थिए । नेपालमा केही पनि सम्भावना छैन भन्ने भाष्य गलत भएको उनको तर्क थियो ।

अहिले नेपाल बाहिर रहेका नेपालीहरुले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको भन्दै उनले आम नागरिकहरुलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको औल्याएका थिए ।

‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन । हरेक हिसावले नेगेटिभ हिसावको मात्रै सोचाइ छ । बाहिर बस्ने नेपालीहरु नेपालका मान्छे नराम्रो, नेपालमा अवसर छैन, उहाँहरुले नेपाल हरेक हिसावले नकारात्मकता छ । सामाजिक सञ्जालको कारणले पनि त्यो सोच भएको हो कि जस्तो लाग्छ । तर वास्तविकता त्यो होइन । नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो,’ अध्यक्ष ढकालले भने ।

कोरोनाको क्रममा निराशा देखिएको र संकुचन आए पनि अहिले अवस्था सुधार भएको उनले बताए । हाल नेपालमा जता हेर्‍यो त्यतै त्यतै अवसर भएको उनको दाबी थियो ।

अध्यक्ष ढकालले भने, ‘नेपालमा जता हेर्‍यो त्यतै अवसर छ । कोरोनाका कारण जुन संकुचन आयो, यही बीचमा उद्योगा वाणिज्य महासंघको जिम्मेवारी सम्हालेको हो । हरेक ठाउँमा निराशा थियो, आम नागरिकलाई विश्वासमा लिन जरुरी छ । यसबीचमा यसको लागि हामीले करिब डेढ वर्ष भयो, यो बीचमा त्यो आत्मविश्वास दिलाउन निजी क्षेत्रको तर्फबाट पहल गरेका छौँ ।’

Publish on: