निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैनः चन्द्र ढकाल « Eglish Khabarhub

निजी क्षेत्रमा अख्तियार र शतर्कता केन्द्र पसे अर्थतन्त्र चलायमान बन्न सक्दैनः चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय शतर्कता केन्द्रले निजी क्षेत्रलाइ अनुगमन गर्नेगरी सरकार अघि बढे अर्थतन्त्र चलायमान बन्न नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रको अनुगमन र निरीक्षण अख्तियार र शतर्कता केन्द्रले गर्दा अर्थतन्त्र चलायमान बन्न नसक्ने, निजी क्षेत्रले रोजगारीको क्षेत्र र उत्पादन वृद्धि गर्न नसक्ने स्थिति बन्ने बताए ।

‘अख्तियार र शतर्कता केन्द्र सम्बन्धी विषयमा निजी क्षेत्रलाई हेर्नुपर्छ भन्ने हिसाबले राखिएको छ,’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुलाई हेरिराखेको छ । भोलि अख्तियारको दायरामा सिधै हेर्ने बैंक तथा वित्तीय संस्था पर्ने हो भने सेन्ट्रल बैंकको, रेगुलेटरको भूमिका नियन्त्रण हुन्छ ।’

‘निजी क्षेत्रलाई फेरि त्यसो गर्न खोजियो भने सारा यो अर्थतन्त्र चलायमान बनाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने दायित्व छ, कर बढाउनुपर्ने कुरा जुन क्रियाकलाप बढाउनुपर्नेछ, त्यो खुम्चिन्छ,’ उनले भने ।

उनले अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लिक्विडिटी रहेको बताए । ढकालले रेमिट्यान्स बढेको र विदेशी मुद्रा सञ्चिति पनि बढेको बताए ।

‘अहिले बैंक तथा वित्तीय संस्थामा प्रशस्त मात्रामा लिक्विडिटी भएको अवस्था छ । रेमिट्यान्स बढेर आएको छ । फरेन करेन्सीको रिजर्भ त्यत्तिकै बढेको छ । मौद्रिक नीतिपछि सेयर मार्केटको एक्टिभिटी बढेको छ । घरजग्गाको कारोबार पनि यो बीचमा बढेको छ । पोजिटिभ हिसावले अघि बढिरहेको छ । यसलाई दिगो बनाउने हिसाबले अघि बढ्नुपर्छ,’ उनले भने ।

उनले मौद्रिक नीतिपछि सेयर बजार बढिरहेको र घरजग्गाको कारोबार बढेको बताए । उनले अर्थतन्त्र सकारात्मक हिसावले अघि बढिरहेको भन्दै यसलाई दिगो बनाउनुपर्ने बताए ।

यस्तै सरकारले काम लगाएपछि तत्काल भुक्तानी दिन्छ भन्ने सन्देश दिन सके अर्थतन्त्र चलायमान बनाउने क्रियाकलाप बढ्ने पनि उनले बताए । राजश्व चुवाहट बढेका कारण सीमाको कडाइ गर्नुपर्ने कुरामा सरकारले बढी प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

तर भारतीय पर्यटकलाई सीमामा सहजता प्रदान गर्नसके पर्यटन क्षेत्रमा पनि राम्रो गर्न सकिने ढकालको भनाइ छ ।

Publish on: