
काठमाडौं । ७५ लाख रुपैयाँ तिरेर किनेको कारमा पाँच जना बसेर यात्रा गर्दा उकालोमा घच्याकघच्याक गर्न थाल्छ भने तपाईं के गर्नु हुन्छ ? पक्कै पनि निकै पछुतो लाग्नेछ, मूल्य घटेरै भए पनि सेकेन्ड ह्यान्ड बजारमा बेचेर अर्को कुनै कार किनौं भन्ने सोच्नुहुन्छ ।
फिचर र लुक्स खुब मन परेर चिनियाँ कार उत्पादक चांगनले उत्पादन गरेको दीपाल ब्रान्डको कार किन्नेहरुमध्ये धेरै अहिले यही स्थितिमा पुगेका छन् ।
इलेक्ट्रिक भेइकलको सबैभन्दा आकर्षक पक्ष हो, टर्क अर्थात् पिकअप । ईभी निर्माताले यस्ता कारको बाहिरी आवरण सुन्दर त बनाएकै हुन्छन् । ब्याट्री, मोटर र त्यसमा जडान गरिएको सफ्टवेयरको तालमेलले यी कारको खासियत झन् बढाएका छन्।
उकालो होस् वा ओरालो, अफरोड होस् कि पिच बाटो, जस्तोसुकै बाटोमा पनि एक्सेलेटेर थिचेपछि तुफान गतिमा दौडन सक्छन् ईभी । ईभीलाई पेट्रोलबाट चल्ने सवारीसाधानले जित्न धौधौ नै पर्छ ।
तर, जुन फिचरका कारणले ईभी किनेको हो, सोही फिचरमा समस्या भोग्नुपरे पछि दीपाल धनी वाक्क बनेका हुन् ।
लुक्स र फिचरमा दीपाललाई जित्ने कार नेपाली बजारमै छैन । रंग, डिजाइन, पर्फमेन्सका कारण सुरुमा यो कारको प्रतिस्पर्धी थिएन । कारभित्र प्रवेश गर्नुपूर्व होस् वा प्रवेश गरेपश्चात्, यो कारको प्रिमियमनेसले सबैको मोह खिच्यो । सयौं युनिट कार बिके ।
तर, अहिले भने नागढुंगाको उकालोमा हेर्दा आँखामा धपक्कै बस्ने कुनै कार सुस्तरी सुस्तरी उक्लिएको देखिन्छ भने त्यो अरु कुनै नभएर दीपाल कार हो भन्न थालिएको छ ।

एक प्रयोगकर्ताका अनुसार कारले बेलाबेला टर्क गुमाउने कारण उनी वाक्क हुन लागेका छन् । उनका अनुसार ५ जना बसेर उकालो चढ्न थाल्दा सुरुमा त राम्रै तान्छ । तर, अरु ईलेक्ट्रिक कारको झैं पावरले निरन्तरता पाउँदैन ।
‘सुरुमा त राम्रै पिकअप छ । तर, उकालोमा केही अघि बढेपछि कारमा पावर नै आउँदैन,’ ती प्रयोगकर्ताले क्लिकमान्डुसँग भने, ‘कम्पनीका अनुसार गाडीको सफ्टवेयरले नै मोटरमा धेरै लोड परेपछि तातेर थप समस्या आउनबाट जोगाउन ब्याट्रीबाट कम शक्ति खिच्छ । र, अर्को अर्थात् जबरजस्ती बढी ब्याट्री खाने मोडमा राखेर चलाउनुपर्छ ।’
यो समस्याका कारण यो गाडीलाई अप्ठेरो र बिग्रेको तथा केही बढी उकालो बाटोमा लैजान मनै नलाग्ने उनले बताए ।
‘७५ लाख रुपैयाँ हालेर किनेको कार आफूले भनेको ठाउँमा नजाने भएपछि के मञ्जा ?’ उनले भने ।
उकालोमा नतान्नेबाहेक कारको अर्का समस्या हो, चार्ज ड्रप हुनु । फुल चार्ज गरेर राखेको कारको चार्ज बिहान निकै कम हुने गरेको छ । विशेषगरी चिसो र पानी परेको वा ओसिल अवस्थामा कारको चार्ज नटिक्ने समस्या छ । त्यसबाहेक ढोकाको च्याप, सनरुफको काप र मुनिबाट पानी पस्ने समस्या रहेको गुनासो प्रयोगकर्ताले गर्ने गरेका छन् ।

दीपालको अर्को ठूलो समस्या हो, सेमि अटोमेटेड डोर ह्यान्डल । यो फेन्सी फिचरले कहिलेकाहीँ साथीभाई वा आफन्तलाई गाडी दिन निकै समस्या पर्ने गरेको छ । बाहिरबाट ढोका खोल्न दबिएको ह्यान्डल छ भने भित्रपट्टी ह्यान्डल नै छैन ।
भित्र ह्यान्डल नहुँदा साथी भाइहरु झुक्किन्छन् । भित्रपट्टिबाट ढोका खोल्न ह्यान्डलको सट्टा एउटा बटन छ। बटन थिचेर ढोका अनलक गर्ने र त्यसपछि ढोकालाई धकेल्नु पर्ने भएकाले नयाँ प्रयोगकर्ता निकै झुक्किने गरेका छन् ।


अर्को मुख्य कुरा हो, ढोका खोल्ने म्यानुअल ह्यान्डल नहुँदा गाडीको ब्याट्री पूर्णतः सकिनुअघि नै बाहिर निस्किनुपर्छ । नत्र भित्रै लक हुनेछ ।
त्यो भन्दा पनि मुख्य विषय हो, दुर्घटना भएर गाडीको अटोमेटेड प्रणालीले काम बन्द भएपछि ढोका खोल्न समस्या आउनेछ । ह्यान्डल भएको गाडीभन्दा फरक दिपाल भित्रबाट खोल्न निकै मुस्किल पर्ने छ ।
ल्याम्बोरगिनीको उरुस झैं देखिने यो ब्रान्डको लोगो अंग्रेजी अक्षर टी जस्तो देखिन भएकाले दीपाललाई टेस्ला किलर पनि भनिन्छ । तर, नेपाली बजार र प्रयोगकर्ताले पैसा किलर पनि भन्न थालेका छन् ।

नेपालको लागि चांगलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले सुरुमा कार बेच्ने बेला अमेरिकी कार कम्पनी टेस्लालाई चुनौती कार भनेर खुबै प्रचार गर्यो । एक अर्का प्रयोगकर्ता भन्छन्, ‘टेस्लाको त नजिक नि छैन। सुन भनेर किनेको पित्तल परेको फिल भइरहेको छ ।’
गाडीको धेरै राम्रा फिचरहरु भए पनि यसका केही फिचर निकै नै डरलाग्दा र अप्ठ्यारा छन् । जस्तो कि जताततै सेन्सर हुनु सुरक्षाका हिसाबले उत्तम मानिएपछि ब्लाइन्ड स्पट डिटेक्सनका कारण गाडीभित्र चेतावनी ध्वनीस्वरुप ‘ट्याङट्याङ’ आवाज आइरहन्छ ।

कारमा कुनै पनि बटन नभएका कारण सबै कार्य पूरा गर्न स्क्रिन र त्यसको टचमा भर पर्नुपर्छ । सो स्क्रिन वा टच बिग्रिए गाडीका फङ्सनहरु चलाउनै अप्ठेरो पर्नेछ ।
यसबाहेक कारको स्टेरिङ मुनि इन्स्ट्रुमेन्ट प्यानल छैन । विन्डशिल्ड (अगाडिको सिसा)मा भएको इन्स्ट्रुमेन्ट प्यानल प्रयोगकर्ताका लागि निकै असहज छ भने यदी अगाडिको सिसा फुटे वा चर्किए प्रयोगकर्ताले निकै ठूलो मूल्य चुकाउनु पर्नेछ।

गाडी धनीलाई मन नपरिरहेको दीपालको अर्को फिचर हो, रियर ह्विल ड्राइभका कारण चलाउँदा इन्स्ट्यान्ट टर्क महशुस नहुनु।
एक प्रयोगकर्ता भन्छन्, ‘फ्रन्ट ह्विल ड्राइभभन्दा भिन्न छ, रियर ह्विल ड्राइभका कारण गाडीमा इन्स्ट्यान्ट टर्क महशुस हुँदैन ।’
यसभन्दा पनि मुख्य कुरो त के हो रेन्जमा समस्या । जबजब गाडी उकालो बाटो लाग्न थाल्छ, नर्मल मोड (इको मोड)मा चलाउन सकिँदैन।
माथिल्लो मोड (कम्फर्ट वा स्पोर्टस्)मा चलाउनुपर्ने हुन्छ । यसको अर्थ हो, गाडीले नियमितभन्दा बढी ऊर्जा खपत गर्दछ ।
यहीकारण कारको रेन्जमा निकै समस्या छ । काठमाडौं उपत्यका र तराईका बाटोमा यात्रा गर्न दीपालमा समस्या नभए पनि लामो दूरी यात्रा गर्दा चार्ज कुन बेला ड्रप हुने हो भन्न सकिँदैन ।
उदाहरणका लागि, एक अटो भ्लगरले दिपालको रिभ्यु गर्दा भनेका छन्, ‘नुवाकोटको गँगटेदेखि शिवपुरी डाडाँडासम्म आइपुग्दा २५ प्रतिशत चार्ज कन्ज्युम भयो ।’

गँगटेदेखि शिवपुरीको दूरी ३४ किलोमिटर छ । गाडीको रेन्जमा निकै समस्या छ भन्ने तिनै भ्लगरको रिभ्युबाट पुष्टि हुन्छ । उल्लेखित प्रतिशत र दूरीको अनुपातले गाडीको रेन्ज १३६ किमिमात्र हुने संकेत गर्दछ । जबकि कम्पनीको दाबी ४९५ किमि दिने छ ।
यसबाहेक दिपालका कारमा एयरब्याग नखुल्ने, चार्जिङ गर्न समस्या हुने, आफ्टर सेल्स सर्भिस चित्तबुझ्दो नहुने जस्ता समस्या पनि रहेको गुनासो प्रयोगकर्ताले गरेका छन् ।
सेकेन्ड ह्यान्ड बेच्न थाले
नेपाली बजारमा दीपाल सार्वजनिक भएको ५ महिना पूरा भएको छ । तर, माथि उल्लेखित र त्यस्तै अरु फिचरका कारण अहिले नै केही प्रयोगकर्ता आजित भएर बेच्न तयार बनेका छन् ।
यसले एकातिर चिनियाँ उत्पादन प्रतिको दृष्टिकोण सुधार नसक्ने र अर्कातिर नेपाली बजारमा ईभीको उदाउँदो बजार नै अनिश्चित बनाइदिने संकेत मिलेको छ ।
सर्वसाधारणहरु दीपाल बेच्न चाहिरहेको प्रमाण सेकेन्ड ह्यान्ड रिकन्डिसनहरुले सामाजिक सञ्जाल र बिक्री प्लेटफर्ममा राखेको विज्ञापनले दिन्छ ।
एक रिकन्डिसन हाउसका सञ्चालकले क्लिमान्डुसँग भने, ‘तपाईंलाई सेकेन्ड ह्यान्ड दीपाल चाहिने हो भने ब्रान्ड न्यूभन्दा ४ लाख सस्तोमा उपलब्ध गराइदिन सक्छु ।’

क्लिकमान्डुकर्मीले ग्राहक बनेर ती व्यवसायीसँग कुरा गर्दा ती व्यवसायीले प्रयोगकर्ता दीपाल बेच्न चाहने कारण खुलाउन चाहेनन् । उनले भने, ‘गाडीमा समस्या भएर होइन, विदेश जान चाहनेहरुले गाडी बेच्न खोजेका हुन्, तपाईं चाहियो भन्नुस् तु मिलाइदिन सक्छु ।’ ती व्यवसायीको बोलीमा समस्या भने ग्राहक भड्किन सक्ने भाव लुकेको थियो ।
लुक्स र फिचरमा विश्वस्तरीय सवारीसँग प्रतिस्पर्धा गर्ने दीपाल चिनियाँ सवारी निर्माता चांगनले चीनसँगै नेपाल र थाइल्यान्डका लागि बनाएको विशेष ब्रान्ड हो ।
नेपाली बजारलाई एक्सपेरिमेन्ट बनाउने प्रयास गरेको दीपालका गाडी नागढुंगालगायत उकालो र अफरोड बाटोमा मेरिमेटेर तान्ने कारण समस्या एमएडब्लूमा धेरै नै गुनासो आउन थालेको छ ।
दीपाल उत्पादन गर्ने चांगनको कार नेपाल उद्योग परिसंघ (सीएनआई) का पूर्वअध्यक्ष विष्णु अग्रवालले नेपाली बजारमा बिक्री वितरण गर्छन् । उनको कम्पनी एमएडब्लूमाथि वृद्धि भन्सार छल्न किलोवाट घटाएर गाडी आयात गर्ने गरेको आरोप छ।

चांगन मोटर्सको दीपाल एस-०७ भन्सार छल्न कागजात मिलाएर ९९ किलोवाट बनाएर आयात गर्ने गरेको करिब ३ महिनाअघि नै खुलेको हो। यस विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
सबै स्पेसिफिकेस उस्तै भएको गाडी नेपालबाहेक देशमा १९० किलोवाटमा बिक्री भइरहेको छ । तर नेपालमा भने ९९ किलोवाटमा आयात गरेर बिक्री भइरहेको हो ।
नेपालमा ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारीसाधनले ६३ प्रतिशत कर तिर्नुपर्छ । १०१ देखि २०० किलोवाटसम्मका सवारीसाधनले ८५ प्रतिशतसम्म कर तिर्नुपर्छ । सोही कारण दीपाल ९९ किलोवाट मोटर क्षमतामा नेपाली बजारमा आउने गरेको हो ।
पेट्रोलियम कारमा सीसी भने झैं विद्युतीय सवारीमा मोटरको पिक पावर हुन्छ । जतिधेरै मोटरको पिक पावर उति ठूलो क्षमता हुने भन्ने बुझिन्छ। जसअनुसार कम पिक पावर भएको मोटरले दिने टर्क (सामान्य भाषामा भन्नुपर्दा ‘पिकअक’) बढी पिक पावरले दिनेभन्दा कम हुनुपर्छ । १९० किलोवाट र ९९ किलोवाट दुबै गाडी अधिकतम टर्क ३२० न्युटन मिटर (एनएम) छ ।
नेपालको उपलब्ध हुने दिपालको मोटर पावर ९९ किलोवाटमात्र छ । जबकि चिनियाँ कम्पनीको यो कारले विश्वका अन्य बजारमा १९० किलोवाटको कार पठाउँछ ।

दिपाल एस-०७ को स्पेसिफिकेसन
गाडीको रेन्ज ४८५ किलोमिटर रहेको दाबी कम्पनीको छ । ब्याट्रीको क्षमता भने ६६.८ किलोवाट आवरको रहेको ।
गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ छ । टर्निङ रेडियस ५.७४ एम छ ।
अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपाल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौँ फिचरहरू छन् । एस०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिन सक्छ । साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयुडी) रहेको छ ।
गाडीको क्याबिनबीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ । कारमा ‘वेलकमिंग सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैँ मिलाइदिन्छ ।
कारमा नेपालमै पहिलो पटक, कुनै पनि इभीमा चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ ।
आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ लाई बलियो बनाउन भन्दै दिपाल एस ०७ मा ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ दिइएको छ ।
दीपाल एस०७ मा ६ वटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै सुविधा छन्।
नेपाली बजारमा नयाँ दीपाल एस ०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ पर्छ । सेकेन्ड ह्यान्ड दीपाल भने ५५ देखि ७० लाख रुपैयाँसम्ममा पाउन थालेको छ ।
SHARE YOUR THOUGHTS