प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती: म गलत हो भने समाउ ! « Eglish Khabarhub

प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती: म गलत हो भने समाउ !



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीविरुद्ध दिएको अभिव्यक्ति फिर्ता नलिने बरु आफूलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् ।

उनले मंगलबार साँझ फेसबुकमा स्टाटस लेखेका छन्, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

https://www.facebook.com/balenOfficial/posts/1078769490281972?ref=embed_post

यसअघि प्रधानमन्त्री ओली र एमालेविरुद्ध दिएका अभिव्यक्तिको आलोचना भएपछि मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटाउनुको सट्टा दोषीलाई पक्राउ गर्न सुझाव दिएका छन् । साथै आफू दोषी नरहेकोले उनले दोषीलाई पक्राउ गर्न पनि आग्रह गरेका छन् ।

यसअघि मेयर शाहले प्रधानमन्त्री ओलीलाई अरुको इशारामा चलेको आरोप लगाएका थिए । त्यसको प्रतिक्रिया स्वरुप फेरि नयाँ स्टाटस लेख्दै आफू सही भएको दाबी गरेका हुन् । सोमबार सामाजिक सञ्जालमा मेयर शाहले प्रधानमन्त्री ओलीलाई आफ्ना कार्यकर्तालाई सामन्य ज्ञान दिएर राजनीतिमा लगाउन भन्दै चेतावनी दिएका थिए । ‘ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाईंजस्तै अरुको इशारामा चल्ने हुनुपर्ला,’ बालेनले भनेका थिए ।

काठमाडौं महानगरले गत जेठ १४ गते एमाले नेतृ रेखा कुमारी शर्माको दाङस्थित घरेलु काममा लगाइएकी एक बालिकाको उद्धार गरेर ३ चरणको काउन्सिलङ गरेको बालेनले बताएका थिए । सोही काउन्सिलङका क्रममा बालिकाले त्यहाँ आएदेखि नै विगत ८ वर्षदेखि आफ्नो जैविक बाबुआमा नभेटेको, घरमा पोछा लगाउने, करेसाबारीमा काम गर्ने, खाना पकाउने लगायतका काम गर्नुपर्ने, केही काम बिगार्दा घरधनी रेखा कुमारी शर्माले लट्ठी र पाइपले पिट्ने गरेको, धम्की दिने गरेको भन्ने खुल्न आएको बालेको आरोप छ ।

जेठ २५ गतेदेखि नै प्रहरीसँग अनौपचारिक कुरा गरी उद्धार भएका बालबालिकाको मुद्दा एकीकृत रूपमा अघि बढाउने गरी तयारी हुँदै गर्दा प्रहरीबाटै सांसदविरुद्ध जाहेरी पर्न लागेको भन्ने सूचना चुहाएर महानगरको जाहेरीभन्दा अगावै रेखा कुमारी शर्माको फन्डिङमा नै बालिकाको बाबुको नाउँमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हाल्न लगाएको आरोप बालेनको थियो।

यसरी जेठ २७ गते रेखा कुमारी शर्माले बालिकाको बाबुलाई प्रयोग गरी महानगरकाविरुद्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरिएपछि मात्रै प्रहरीले रेखा कुमारी शर्मालाई विपक्षी बनाइ बालबालिका सम्बन्धी एन २०७५ को दफा ६६ को बालबालिका विरुद्धको कसुरको उपदफा २(ङ) र मुलुकी फौजदारी संहिता एन २०७४ को दफा १६३ अन्तर्गतको दास बनाउन नहुने कसुरमा दायर गरेको जाहेरी दर्ता गरेको बालेनको भनाइ छ । पछिल्लो केही महिनायता मेयर शाहले प्रधानमन्त्री ओलीविरुद्ध श्रृंखलाबद्ध रुपमा टिप्पणी र आरोप लगाउँदै आएका छन् । कतिपय गम्भीर किसिमका विषयमा पनि शाहले ओलीमाथि आरोप लगाएका छन् ।

Publish on: