
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिक तेक्वान्दोमा कांस्य पदक विजेता २१ वर्षीय पलेशा गोवर्धनलाई तीन लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।
महासंघले खेलाडी गोवर्धनसहित प्रशिक्षक कविराज नेगी लामालाई १ लाख २५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी पनि हुन् । सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाइ ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
साथै अध्यक्ष ढकालले महासंघका सदस्य एवं सबै निजी क्षेत्रलाई कुशल खेलाडी गोवर्धन लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आह्वान गरेका थिए । ‘नेपाली युवाहरु प्रतिभावान छन्,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’
गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्याय सुरुवात गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।
गोवर्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्ने प्रतिक्रिया दिएकी छन् । महिलाहरूको ५७ केजी के–४४ वर्गमा गोवर्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक हात पारेकी थिइन् ।
पेरिस प्यारालम्पिकमा गोवर्धनको ऐतिहासिक विजयले नेपाली खेलाडीहरूको लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ । महासंघसँगै अन्य विभिन्न संघसंस्थाहरुले पनि पलेशालाई पुस्कारसहित सम्मान गरेका छन् । सरकारले पनि उनलाई सम्मान गरेको छ ।
SHARE YOUR THOUGHTS