
काठमाडौं । नेपालमै एसेम्बल भएको हुन्डाईको भेन्यु कार १२० युनिट डेलिभरी भएको छ । कोरियन कार उत्पादक कम्पनी हुन्डाईले नेपालमै कार बनाउन थालेपछि यो कारमा ग्राहकहरुको आकर्षण देखिएको कम्पनीले बताएको छ ।
नेपालमै हुन्डाइ भेन्युको व्यावसायिक उत्पादन गर्न थालेपछि ग्राहकलाई भारतबाट आयातीत कारभन्दा मूल्य समेत सस्तो परेको छ ।
लक्ष्मी इन्टर कन्टिनेन्टल कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार भेन्युको मूल्य ४ लाख रूपैयाँ सस्तो भएको छ । हाल बजार मूल्य ४८ लाख ९६ हजार रूपैयाँ रहेको भेन्यु एस १.२ को मूल्य ४४ लाख ९६ हजार रूपैयाँ कायम भएको छ ।
यसैगरी यसअघि ५७ लाख ९६ हजार रूपैयाँ मूल्य रहेको उन्नत भेरियन्टको एसएक्सको मूल्य ५३ लाख ९६ हजार रूपैयाँ तोकिएको छ । दुवै कारको इन्जिन क्षमता ११९८ सीसीको रहेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन सुरु गरेको हो ।
गत वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासीको रामग्राम-६ मा ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ गरेका थिए । यससँगै कम्पनीले हुन्डाई भनेन्युको बिक्री सुरु गरेको जनाएको छ ।
यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु हुन्डाइ मोटर कम्पनी कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरु सरह रहेको दाबी कम्पनीले गरेको छ ।
स्वदेशमै उत्पादन गरी देशको औद्योगिकीरण, आयात प्रतिस्थापन, रोजगारी, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युत खपत, कुल गाह्रस्थ उत्पादनमा योगदानका साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।

पहिलो चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समयभित्र थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने योजना रहेको कम्पनीले जनाएको छ । यसै आर्थिक वर्षभित्र हुन्डाइ ग्रान्ड आई टेन र न्यु हुन्डाई क्रेटाको उत्पादन पनि सुरु गर्ने तयारी कम्पनीको छ ।
त्यसै गरी अपग्रेडेट भर्सनको नयाँ क्रेटाको ६१ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । १५० युनिट बुकिङ भएकाले कम्पनीले डेलिभरी गरिरहेको जनाएको छ । गएको साउन तेस्रो सातादेखि नयाँ हुन्डाई क्रेटा ल्याएर बिक्री थालेको हो ।
प्रतिक्रिया