नेत्रावती डबजोङ अस्पताललाई ज्योति विकास बैंकको बेबी वार्मर वितरण « Eglish Khabarhub

नेत्रावती डबजोङ अस्पताललाई ज्योति विकास बैंकको बेबी वार्मर वितरण



काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया हुनबाट जोगाउन बेबी वार्मर मेसिन प्रदान गरेको छ।

ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरिएको हो।

विशेषगरी ग्रामिण क्षेत्रमा हाइपोथर्मियाको दरउच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै उक्त जोखिमलाई न्यूनीकरण गर्ने अत्यन्त संवेदनशील र महत्वपूर्ण उपकरण उक्त अस्पतालमा प्रदान गरिएको हो।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत नेत्रावती डबजोङ अस्पताल सहित हालसम्म ४७ वटा मेसिनहरू प्रदान गरिसकेको छ ।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न गरेको योगदानले बैंकले विभिन्न चरणहरु मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा यसअघि प्रदान गरेका ४६ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब १ हजार ६८० भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको बैंकले जनाएको छ।

बैंकको हालसम्मको योगदानले करिब ८ हजार ५०० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षा गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको जनाएको छ।

नेत्रावती डबजोङ अस्पतालमा आयोजित कार्यक्रममा बैंकका पदाधिकारीबाट उक्त स्वास्थ्य चौकीहरुका पदाधिकारी लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो। उपकरण जडानको साथै त्यसको उच्चतम सदुपयोग निश्चित गर्न बैंकले विशेष तालिमको लागि पनि समन्वय गर्दै आएको छ।

Publish on: