आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बर अफ कमर्सको ध्यानाकर्षण « Eglish Khabarhub

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बर अफ कमर्सको ध्यानाकर्षण



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शुन्य कारोबार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नगर्ने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण जनाएको छ ।

यस्तै वार्षिक २५ करोड रुपैयाँसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था एवं वार्षिक २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने करदाताहरुको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने व्यवस्थाप्रति चेम्बरले आपत्ति जनाएको हो ।

मुलुकको अर्थतन्त्र शिथिल रहेको अवस्थामा विद्यमान कानुनी व्यवस्था विपरीत विभागले निर्णय गरेको भन्दै यसले व्यावसायिक क्षेत्रमा गम्भीर असर गर्ने चेम्बरको भनाइ छ । साथै आन्तरिक राजश्व विभागको निर्णय सच्याउन समेत चेम्बरले आग्रह गरेको छ ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयकर ऐन २०५८ को दफा ९८(१)मा आय विवरण दाखिला गर्ने म्याद थप गर्ने सम्बन्धमा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने कुनै व्यक्तिले त्यस्तो विवरण दाखिला गर्ने म्याद भित्र विभाग समक्ष थप म्यादको लागि लिखित निवेदन दिएमा मनासिव माफिकको कारण भएमा विभागले आय विवरण दाखिला गर्नुपर्ने म्याद थप गरिदिन सक्नेछ ।

यसरी म्याद थप का लागि दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णयको जानकारी निवेदकलाई लिखित रुपमा दिनु पर्नेछ भन्ने कुरा उल्लेखित हुंदाहुंदै विभागले सूचना जारी गरी विगतमा दिएको म्याद थपको सुविधाहरु कटौति गरेकोमा उद्योगी व्यवसायीहरु मर्कामा पर्ने व्यहोरा अनुरोध छ ।’

Publish on: