उद्धारका लागि पर्खेकोपर्ख्यै, डोरी पनि नलिइ पुग्यो प्रहरी, नख्खु खोलाले बगायो ४ जना « Eglish Khabarhub

उद्धारका लागि पर्खेकोपर्ख्यै, डोरी पनि नलिइ पुग्यो प्रहरी, नख्खु खोलाले बगायो ४ जना



काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन् । ललितपुर महानगरपालिकाको १४ नम्बर वडामा उनीहरुलाई नख्खु खोलाले बगाएको हो ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता हुनेमा नाम र वतन नखुलेका दुई पुरुष, एक महिला र एक बालक रहेका छन् ।

उद्दारकर्ताको प्रतीक्षा गर्दा गर्दै उनीहरु बगेको स्थानीयको भनाइ छ । कान्तिपुर कोलोनी नजिकै टहरामा उनीहरु बस्दै आएका थिए ।

शनिबार बिहान करिब ८ बजेदेखि बाढीले चारैतिरबाट टहरो घेरिएपछि उनीहरु टहरामाथि चढेका थिए । उनीहरु टहरामाथि बसेको र बगेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

मानिस फसेकोबारे खबर गरेको आधा घण्टापछिमात्र दुई जना प्रहरी आएको भन्दै स्थानीय आक्रोश पोखेका छन् । उद्धारका लागि आएका प्रहरीले उद्धारका लागि अत्यावश्याक सामग्रीसमेत नलिइ गएको स्थानीयले बताए । ‘ डोरीसमेत नलिइ आउनु भएको थियो । लाइफ ज्याकेट त परको कुरा । हामीले नै घरमा लुगा सुकाउने डोरी दिएका थियौं ।’

नख्खु खोला कोरिडोरभन्दा बाहिरपट्टी टहरा बनाएर मजुरी गर्ने व्यक्तिहरु बसेका थिए ।

‘यो उद्धार गराइले, एउटा डोरीको भरले कसरी उद्धार हुन सक्छ?,’ आक्रोशित एक स्थानीयले भने, ‘देशको राजधानी भएको, मन्त्री क्वार्टरअघिको अवस्था यस्तो छ भने देशको अन्य ठाउँमा के होला ?’

उनीहरुलाई उद्धारका लागि डोरीमा क्रेट बाधेर प्रहरीले पठाएको भए पनि त्यसअघि नै उनीहरु उभिएको स्थानको जस्ता बगाएर खसेको थियो भने बच्चासहित ४ जनालाई बाढीले बगाएको थियो ।

सातदोबाटो प्रहरीलाई खर गरिएको भए पनि बेलैमा उद्धार हुन नसकेको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

Publish on: