२९ मंसिर २०८२, आइतबार

सञ्चालनमा आयो ‘वेल इक्विप्ड मोबाइल ल्याब’, खाद्यजन्य पदार्थको स्थलगत अनुगमनमै गल्ती पत्ता लाग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका लागि साढे छ वर्षअघि खरिद गरिएको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान सञ्चालनमा ल्याएका छन् ।

बुधबार बिहान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग पुगेका मन्त्री अधिकारीले साढे छ वर्षदेखि अलपत्र रहेको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान सञ्चालनको थालनी गरेका हुन् ।

सरकारको उद्देश्य अनुसार वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यानको सदुपयोग हुने विश्वास व्यक्त गर्दै मन्त्री अधिकारीले भने,‘जनताले गुणस्तर हिन खाद्य र पेयजन्य पदार्थ खानुपर्ने अवस्थामा केही हदसम्म नियन्त्रण गर्न यसले सहयोग पुग्नेछ ।’

जनताले अखाद्य वस्तु खानुपर्ने अवस्थाबाट जोगाउने उद्देश्यले नै ठुलो लगानीसहित सरकारले वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान खरिद गरेको अधिकारीले बताए ।

‘स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमुना भ्यानको सहयोगमा परीक्षण हुन्छ,’ मन्त्री अधिकारीले भने,‘परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त भ्यान खरिद गरेको हो। आज देखि यो सञ्चालनमा आएको छ । आम उपभोक्ताको स्वास्थ्य खेलबाड गरेको पाइएमा कारबाही हुन्छ । यसमा तर वा पनि केही हुँदैन ।’

जनताको स्वास्थ्यभन्दा ठूलो कुरा केही नहुने जनाउँदै मन्त्री अधिकारीले भने,‘ समस्याहरू छन् र थिए तर जुन उद्देश्यका लागि राज्यले लगानी गरेको छ त्यसलाई अलपत्र बनाउन हुँदैन थियो, यो भ्यान सञ्चालनमा आयो म खुसी छु ।’ मन्त्री अधिकारीले सुरुमा उपत्यका र त्यसपछि राजमार्ग केन्द्रीत रहेर अनुगमन थाल्न निर्देशन दिएका छन्।

विभिन्न प्रकारका खाद्य उद्योगबाट उत्पादित खाद्य तथा पेयजन्य पदार्थको अनुगमन स्थलमै विश्लेषण गरी दोषीमाथि कानूनअनुसार कारबाही गर्ने उद्देश्यले विभागलाई २०७५ बैशाखमा ४ वटा अत्याधुनिक प्रयोगशालासहितको मोबाइल भ्यान (वेल इक्वीपमेन्ट ल्याबोरेटरी मोवाइल भ्यान) उपलब्ध गराइएको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको खाद्य तथा प्रविधि गुण नियन्त्रण विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २०७५ सालमा २-२ ( बा२झ ४०८७, बा२झ ४०८८, बा२झ ४०८९ र बा२झ ४०९०) वटा वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान खरिद गरेको थियो ।