रास्वपाका सभापति लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी « Eglish Khabarhub

रास्वपाका सभापति लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापछि रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

स्रोतका अनुसार अदालतले आज साँझ पक्राउ पूर्जी जारी गरेको हो । कास्की जिल्ला अदालतका न्यायाधीस कृष्णजंग साहले पक्राउ पूर्जी जारी गरेका हुन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदनले गरेको सिफारिसका आधारमा लामिछानेलाई पक्राउ गर्न लागेको हो ।

समितिले प्रतिवेदन पेश गरेलगत्तै गोरखा मिडिया नेटवर्क पूर्व सञ्चालक छविलाल बन्जाडे जोशीलाई कास्की प्रहरीले असोज ६ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अहिले रास्वपाका सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका व्यवसायीक साझेदार गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीवी)राई फरार रहेका छन् ।

सहकारी छानविन समितिले अनुसूची १ र २ मा भएका करिब ३० वटा सहकारीका विषयमा अध्ययन गरेको छ ।

जसमा ५ वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ बचतकर्ताको पैसा गोरखा मिडिया नेटवर्कमा गएको देखिएको छ । त्यसमा रवि लामिछाने, जीवी राई, छविराज जोशी, कुमार रम्तेलको भूमिका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान गरेर यही कानुनअनुसार कारबाही गर्न भनेको छैन । तर, समितिका सभापति सूर्य थापा रविविरुद्ध करिब १ दर्जन कानुन आकर्षित हुने बताउँछन् ।

‘रविलाई प्रचलित कानुन अनुसार कारबाही गर्न हामीले सिफारिस गरेका छौं । सहकारीको बचत, अपचलन, दुरुपयोगले मात्रै पनि पुग्दैन,’ सभापति थापाले भने, ‘कम्पनी ऐन, सम्पत्ति शुद्धीकरण ऐन, सरकारी निकायमा झुठो विवरण बुझाएको सम्बन्धी कानुन लगायत झण्डै एक दर्जन कानुन गोरखा मिडिया नेटवर्कमा सहकारीका बचतकर्ताको बचत दुरुपयोग सम्बन्धमा जुन चलखेल भयो त्यसमा आकर्षित हुन्छ भनेर हामीले भनेका छौं ।’

बचत अपचलन गरेको विषय गैह्रकानुनी हुने र गैह्रकानुनी काम गर्न कसैले पनि नपाउने उनी बताउँछन् । समितिले कुनै कानुन उल्लेख गर्न सकिने भए पनि एउटा कानुन उल्लेख गर्दा बाँकी कानुनमा उन्मुक्ति दिन सकिने स्थिति नभएको थापाको तर्क छ ।

समितिले सहकारीको बचत अपचलन गरेको भन्दै ४ जनाको नाम किटान गरेर कारबाहीको लागि सिफारिस गरेको छ ।

जसमा गोरर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र बाबु (जीवी)राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेल, तत्कालीन सञ्चालक छविलाल जोशी रहेका छन् । चार जनाले सहकारीको रकम गैह्रकानुनी रुपमा कम्पनीमा ल्याएर खर्च गरेको, उक्त रकम अपचलन, दुरुपयोग गर्न जिम्मेवार देखिएकोले प्रचलित कानुनअनुसार नेपाल सरकारलाई सिफारिस गरेको छ ।

रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भनिरहे पनि सहकारीबाट आएको पैसा लामिछानेले नै खर्च गरेको तथ्यले देखाएको छ । ६५ करोड ५४ लाख रुपैयाँ गोरखा मिडियामा आएकोमा जिवी राईले ८ करोड सिधै लिएको र बाँकी ५७ करोड ५४ लाख रुपैयाँ रविमार्फत खर्च भएको छ ।

समितिले छानबिनका क्रममा १० वटा चेक हेर्दा ९ वटामा रविको हस्ताक्षर रहेको सभापति थापाको भनाइ छ । २३,२४ करोड रकमका ९ वटा चेकबाट भुक्तानी भएको उनले बताए । समानता, सुप्रिस, सहारा, सानोपाइला, सूयदर्शन सहकारीबाट २२ करोड ४६ लाख रुपैयाँ रकम खातामा सिधै सहकारीबाट आएको छ ।

त्यो रकम रोशनी गुरुङ, वा गुन्जता ज्ञवालीले डिपोजिट गरेको नभइ, सहकारीबाट आएको हो । रवि त्यो खाताको सञ्चालक देखिएका छन् । त्यहाँ आएको पैसा आफूलाई कहाँबाट आयो भनेर थाहा छैन भनेर उन्मुक्ति पाउने अवस्था नरहेको थापाले बताए । संस्थाले निब्र्याजी भनेर लिएको पैसामा १ करोड ५५ लाख ब्याज तिरेको अध्ययनले देखाएको छ ।

समितिले सहकारीको बचत अपचलन समितिले सहकारीको पैसा अपचलन गर्ने गोरखा मिडिया नेटवकर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई दोषी किटान नगरेका कारण सहकारी बचत दुरुपयोग गरेको भन्दै सहकारी ऐन सिधै आकर्षित हुने स्थित नरहेको बताइन्छ । तर, कम्पनी ऐन, सम्पत्ति शुद्धीकरण ऐन आकर्षिक हुने हुँदा लामिछानेलाई सोही अनुसार कारबाही प्रकृया अघि बढाउने स्रोतको दाबी छ ।

Publish on: