![](https://internal.appharu.com/wp-content/uploads/2024/11/ffff.jpg)
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्षलाई दर्ज्यानी चिह्न दिने विषयको विरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेका ग्रेटर नेपालका अध्यक्ष तथा अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
बिहीबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । अभियन्ता नेपालले आफूले सोसल मिडियामार्फत् विज्ञप्ति जारी गरेपछि प्रहरीले पक्राउ गरेको बताएका छन् ।
‘भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथी दिने भए सोही दर्ज्यानी चिनियाँ जनमुक्ति सेनाका प्रमुखलाई पनि दिनुपर्यो भनेर विज्ञप्ति जारी गरेको दुई घन्टाअघि पक्राउ गरेर जिल्ला प्हरी परिसर भद्रकालीा ल्याएर राखिएको छ’ फणिन्द्र नेपालले आफ्नो फेसबुकमा लेखेका छन् ।
अभियन्ता नेपालले विज्ञप्ति मार्फत् भारतीय सेनाध्यक्षकै हैसियतमा चिनियाँ सेना प्रमुखलाई पनि दर्ज्यानी चिह्न दिनुपर्ने भन्दै सरकार समक्ष माग गरेका छन् । उनी यसअघि पनि भारतीय उच्च अधिकारीहरुको नेपाल भ्रमणमा विरोध प्रदर्शन गर्दा पक्राउ परेका थिए ।
नेपालको गुमेको भूभाग फिर्ता पाउनुपर्ने र भारतसँग यसका लागि वार्ता गर्नुपर्ने उनले माग गर्दै आएका छन् । ग्रेटर नेपाल अभियानमार्फत् उनले सिक्किम, दार्जिलिङसहित तत्कालीन नेपालको भूभाग कायम हुनुपर्ने माग गर्दै आएका छन् ।
नेपाली सेनाले भारतीय सेनाध्यक्षलाई दर्ज्यानी चिह्न दिने परम्परा अनुसार भारतीय सेनाध्यक्ष यतिबेला नेपाल भ्रमणमा आएका छन् ।
SHARE YOUR THOUGHTS