हकप्रद सेयर निष्कासन गरेको लिवर्टी इनर्जी ३ वर्षपछि पनि नाफामा जान नसक्ने, को को छन् सञ्चालक? « Eglish Khabarhub

हकप्रद सेयर निष्कासन गरेको लिवर्टी इनर्जी ३ वर्षपछि पनि नाफामा जान नसक्ने, को को छन् सञ्चालक?



काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले आजदेखि हकप्रद सेयर जारी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय अवस्थाका परिसूचक भने निकै कमजोर रहेका छन् ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ७४ पैसा रहेको थियो । यस्तै प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ १२ पैसा ऋणात्मक छ भने सञ्चित नाफा-नोक्सानी ६० करोड ३९ लाख २० हजार रुपैयाँले ऋणात्मक छ ।

कम्पनीले आगामी तीन आर्थिक वर्षको प्रक्षेपण गरेको छ । आगामी तीन आर्थिक वर्षमा पनि कम्पनीले नाफा कमाउन नसक्ने प्रक्षेपण गरेको हो ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५८ करोड ८१ लाख ३१ हजार नोक्सानीमा जाने प्रक्षेपण गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा ५४ करोड ६५ लाख ३१ हजार नोक्सानी हुने र आव २०८३/०८४ मा ४५ करोड १३ लाख १८ हजार रुपैयाँ नोक्सानी हुने प्रक्षेपण रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेटवर्थ २२ रुपैयाँ १२ पैसा ऋणात्मक रहेको कम्पनीका आगामी तीन वर्षमा ५ रुपैयाँ पनि नकट्ने प्रक्षेपण रहेको छ । कम्पनीका अनुसार आव २०८१/०८२ मा ० रुपैयाँ ३५ पैसा, आव २०८२/०८३ मा २ रुपैयाँ २९ पैसा र आव २०८३/०८४ मा ४ रुपैयाँ २३ पैसा हुने प्रक्षेपण छ ।

यस्तै, कम्पनीको प्रक्षेपण अनुसार आव २०८१/०८२ मा ७३ रुपैयाँ ४२ पैसा, आव २०८२/०८३ मा ७५ रुपैयाँ ७१ पैसा र आव २०८३/०८४ मा ७९ रुपैयाँ ९४ पैसा प्रतिसेयर आम्दानी हुने प्रक्षेपण छ ।

कम्पनीले माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसको जडित क्षमता २५ मेगावाट रहेको छ । विद्युत उत्पादन अनुमतिपत्र २०७१ वैशाख १५ गते पाएको हो । विद्युत खरिद बिक्री सम्झौता २०६९ असोज २ गते भएको हो ।

विद्युत खरिद बिक्री सम्झौता व्यापारिक उत्पादन सुरु मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने मिति मध्ये जुन घटि छ सो समयसम्म अर्थात वि.सं. २१०७ वैशाख १४ गतेसम्म रहनेछ । आयोजनाको लागत ६ अर्ब ३१ करोड ३९ लाख २० हजार १०१ रुपैयाँ रहेको छ ।

कम्पनीमा २०८१ असार मसान्तसम्म डा. आत्माराम घिमिरेको ८ लाख कित्ता अर्थात ५.३३ प्रतिशत, कुश कुमार जोशीको ४ लाख ८७ हजार ३७५ कित्ता अर्थात ३.२५ प्रतिशत, कुमार केशर विष्टको ४ लाख ७० हजार अर्थात ३.१३ प्रतिशत, शुसिल थापाको ४ लाख ३९ हजार अर्थात २.९३ प्रतिशत, राम बहादुर पाण्डेको ३ लाख कित्ता अर्थात २ प्रतिशत, राजेन्द्र वस्तीको २ लाख २५ हजार कित्ता अर्थात १.५० प्रतिशत, हरी प्रसाद भट्टको २ लाख ९ हजार ५४५ कित्ता अर्थात १.४० प्रतिशत, सीता पाण्डेको २ लाख कित्ता अर्थात १.३३ प्रतिशत, नरेश बज्राचार्यको १ लाख ७४ हजार कित्ता अर्थात १.१६ प्रतिशत र टंक प्रसाद गैरेको १ लाख ५५ हजार ८०० कित्ता अर्थात १.०४ प्रतिशत सेयर स्वामित्व छ । यी १० जना यो कम्पनीका ठूला सेयरधनी हुन् ।

हकप्रदबाट आएको रकम कम्पनीले बैंकको ब्याज तिर्ने र केही रकम कम्पनीको स्वामित्वमा रहेका आयोजनामा लगानी गर्ने जनाएको छ । कम्पनीले ८ वटा बैंकबाट ५ अर्ब १ लाख ५९ हजार रुपैयाँ कर्जा लिएको छ ।

हाल कम्पनीको अध्यक्ष डा. आत्माराम घिमिरे रहेका छन् । यस्तै सञ्चालकमा राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे, कविता पोख्रेल, कामना होल्डिङ्सको तर्फबाट लोचन कोइराला र स्वतन्त्र सञ्चालक अनुज्ञा सापकोटा रहेका छन् ।

कम्पनीमा घिमिरेको २० हजार, पोख्रेलको २ हजार र कोइरालाको ३०० कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीले आजदेखि १:०.५० अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ करोड रुपैयाँको ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

Publish on: