एनपीएलमा लुम्बिनी लायन्सलाई नेपाल डीपीको प्रायोजन

काठमाडौं । नेपाल डीपी लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ का लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग सम्झौतामा हस्ताक्षर गरेको छ।

नेपाल डीपी लिमिटेड, १० स्टक ब्रोकरेज कम्पनीहरूको प्रवर्द्धनमा सञ्चालनमा आएको सार्वजनिक कम्पनी, लुम्बिनी लायन्सको आधिकारिक क्यापिटल मार्केट पार्टनर बनेको छ।

नेपाल डीपी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जंग थापाले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यो साझेदारीको उद्देश्य नेपाली क्रिकेटलाई प्रवर्द्धन गर्नुका साथै युवा पुस्ता र नेपाली समाजमा क्यापिटल मार्केटप्रति जागरुकता फैलाउनु रहेको बताइएको छ । यस क्रममा नेपाल डीपी लिमिटेडले आफ्नो प्रवर्द्धक स्टक ब्रोकरेज कम्पनीहरूको सहयोगमा वित्तीय साक्षरताका लागि छलफल कार्यक्रम सञ्चालन गर्नेछ। साथै, एनपीएल अवधिभर आफ्नो सेवामा विशेष योजना सार्वजनिक गर्ने तयारी गरेको छ।

लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्नेछन्। फ्रेंचाइजका प्रमुख अन्तर्राष्ट्रिय खेलाडीहरूमा आईपीएल २०१६ विजेता बेन कटिङ, क्यानडाका पूर्व यू१९ वर्ल्डकप विजेता कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इङ्गल्यान्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स समावेश छन्। राष्ट्रिय खेलाडीहरू सन्दीप जोरा, विवेक यादव, र सूर्या तामाङ पनि टोलीमा रहेका छन्।

नेपाल प्रिमियर लिग २०८१ मा आठ फ्रेंचाइज सहभागी हुनेछन्। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मंसिर १९ मा विराटनगर किङ्सविरुद्ध खेल्नेछ।