क्यानडादेखि नेपालसम्म अपराधको साम्राज्य फैलाइरहेका भारतीय कुख्यात ‘डन’ लरेन्स बिश्नोइ को हुन् ? « Eglish Khabarhub

क्यानडादेखि नेपालसम्म अपराधको साम्राज्य फैलाइरहेका भारतीय कुख्यात ‘डन’ लरेन्स बिश्नोइ को हुन् ?



जसले कम्तीमा ३ पटक सलमान खानको हत्याको योजना बनाएका थिए । सलमान खानले पान खाने गरेको पसल र हिँड्ने गरेको बाटो रेकी गर्दै दुई जना सार्प सुटर पनि तयार पारिराखेका थिए ।

काठमाडौं । यसै साता काठमाडौंमा २ जना युवा पक्राउ परे भारतीय ग्याङस्टार लरेन्स बिश्नोइ समूहको सदस्यको नाममा । एक जना चिकित्सक र अर्का दुर्गा प्रसाईंको समूहका युवा हरिचन्द्र फुयाल ।

सुन्दर शान्त नेपालमा कुख्यात भारतीय गिरोह बिश्नोइको नाममा अशुली गर्ने व्यक्ति पक्राउ परेको घटना नेपाल प्रहरीका लागि पनि नयाँ र चुनौतीपूर्ण नै थियो । जवकि उनीहरुले बिश्नोइको नाम बेचेका मात्रै थिए । र उनीहरु बिश्नोइ ग्याङका सदस्य भने थिएनन् ।

यसवाहेक राष्ट्र बैंकका गभर्नरसहित थुप्रै व्यवसायीहरुलाई पछिल्लो समय बिश्नोइको नाममा धम्की दिने फोनहरु आइरहेका छन् । तीमध्ये कतिपय चाहिँ दुर्गा प्रसाईंसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । र अधिकांश नक्कली बिश्नोइको नाममा आएका फोन थिए।

नेपालमा व्यवसायी तथा उच्च पदस्थ व्यक्तिहरुलाई फोन आतंक फैलाइरहेका व्यक्तिहरुले नक्कली बिश्नोइको नाम बेचेका भए सक्कली बिश्नोइ को हुन् त ? भारतको पन्जाबमा हुर्किएका ३२ वर्षीय बिश्नोइ आज भारत मात्रै नभएर विश्वभर एक कुख्यात ग्याङस्टरको नाममा परिचित छन् ।

यतिसम्म कि भारत र क्यानडाको सम्बन्ध बिग्रनुमा पनि बिश्नोइको केही भूमिका छ । भारत मात्रै नभएर भारतबाहिरका अरु देशमा पनि गिरोहको सञ्जाल फैलाउँदै अशुली धन्धा गर्ने यी बिश्नोइ आखिर को हुन् ?

पन्जाबी हिपहप गायक सिन्धु मुसेवालाको हत्या अभियोगमा हाल उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र गुजरातस्थित जेलमा रहेका छन् । मुसेवाला भने त्यस्ता गायक थिए जो भारतको विपक्षी दल कंग्रेसका सदस्य पनि थिए । र बिश्नोइ समूहले भने मुसेवालाको हत्याको जिम्मा नै लियो ।

यसैगरी मुस्लिम समुदायका ६६ वर्षीय राजनीतिज्ञ बाबा सिद्दिकीको मुम्बइमा हत्या हुँदा पनि उक्त हत्याको जिम्मा बिश्नोइ समूहले नै जिम्मा लियो । सिद्दिकी भने महाराष्ट्रमा तीन पटकसम्म विधायक बन्नुका साथै मन्त्री पनि बनेका नेता थिए । उनी बलिउड अभिनेता सलमान खानसँग निकट सम्बन्ध रहेको व्यक्तिको रुपमा पनि चिनिन्थे ।

एक नौजवान युवक लरेन्स बिश्नोइ आज भारतमात्रै नभएर विश्वभर डर त्रासको पात्र बनेका छन् । जसले भन्ने गर्छन्, ‘बडा काम कर्ना है ।’ अर्थात् ‘ठूलो काम गर्नुपर्छ ।’ लरेन्सले भनेको ‘ठूलो काम’ सायद पन्जाबी गायक मुसेवालाको हत्या नै थियो कि । त्यसपछि उनले सलमान खानमाथि आक्रमण गरे । त्यसपछि बाबा सिद्दिकीको हत्या ।

यी र यस्तै घटनाहरुले बिश्नोइलाई अपराध क्षेत्रको कुख्यात नाइकेको रुपमा परिचित बनाउँदै ल्यायो । यति मात्रै कहाँ हो र ! क्यानडामा शिख पृथकतावादीहरुको हत्यामा उनै बिश्नोइको समूहको नाम मुछिएको छ । र यसका लागि भारत सरकारसँग नै बिश्नोइको साँठगाँठ रहेको भन्दै क्यानडाले दाबी गर्दैआएको छ । जसले गर्दा क्यानडा र भारतबीच गहिरो द्वन्द्व उत्पन्न भयो ।

फलस्वरुप क्यानडा र भारतले एकअर्काका देशबाट दूतावासका कन्सुलरहरु फिर्ता बोलाउनेसम्मका कदम चाले । जुन सम्बन्ध अझै सुधार हुने अवस्था छैन । दुई ठूला देश भारत र क्यानडा आपसी द्वन्द्वमा फसिरहँदा दुबै देशलाई ठूलो नोक्सान भएको सामान्य आकलन गर्न सकिन्छ । जवकि यसको फाइदा भने उनै आपराधिक नाइके लरेन्सलाई भयो ।

को हुन् लरेन्स बिश्नोइ, कसरी फैलियो अपराध साम्राज्य ?

पाकिस्तानको सीमा क्षेत्र नजिकै शिख वाहुल्यता क्षेत्र पन्जाबमा १९९३ मा जन्मिएका लरेन्स बिश्नोइको नाम झट्ट सुन्दा भारतीयभन्दा पनि युरोपियन जस्तो सुनिन्छ । बिश्नोइ समुदायमा लरेन्स असामान्य नाम नै मानिन्छ ।

बिश्नोइको परिवार गाउँमा समृद्ध थियो । पन्जाबको दत्तरनवाली गाउँमा ४० हेक्टर जमिनमा उनको परिवारले कृषि खेती गराएको थियो । हाइ स्कुल पढाइ सकेपछि बिश्नोइ कानुन पढ्न चन्डीगढ पुगे ।

डीएभी कलेजमा पढ्दा उनी विद्यार्थी राजनीतिमा आबद्ध भए । र प्रतिद्वन्द्वी विद्यार्थी समूहसँगको प्रतिस्पर्धा छाडेर उनी आपराधिक समूहसँग नजिकिन थाले । त्यसबेला उनले कलेजको विद्यार्थी युनियनको अध्यक्ष समेत भएर काम गरे । चन्डीगढमै उनी हत्या अभियोगमा जेलसम्म पुगे ।

पन्जाबमा सामान्यतया धनी र समृद्ध परिवारका युवाहरु आपराधिक गिरोहमा संलग्न हुनु सामान्य जस्तै मानिन्छ । लरेन्स त्यस्तै युवाहरुमध्ये एक थिए । जसले कलेज राजनीति गर्दा नै भन्थे, ‘म केही हुँ ।’ लरेन्सको यही भनाइले धेरैलाई त्रसित बनाइरहेको थियो । कतिपय युवाहरुका लागि भने लरेन्स एक आइडलको रुपमा चिनिन थाले ।

त्यसैबेला लरेन्सले आफूलाई हिन्दू परम्परागत कित्तामा उभ्याउन थाले । उनी भन्थे, ‘जय श्रीराम ।’ लरेन्सको हिरासत र जेल यात्रा यति लामो भयो कि, १० वर्षभन्दा धेरै वर्षदेखि जेल यात्राको श्रृंखला लम्बिरहेको छ । यसबीचमा उनले मुम्बइमा पनि भयंकर अन्डरवर्ल्डको रुपमा स्थापित हुन सिद्दिकीको हत्या गरेको भारतीय सुरक्षा विज्ञहरु बताउने गर्छन् ।

२००८ मा कलेजमा विद्यार्थी युनियनको चुनावमा उठ्ने बेलामा नै उनले प्रतिस्पर्धीलाई पेस्तोल देखाएर धम्क्याएपछि स्थानीयस्तरमा उनी कुख्यात कहलिएका थिए ।

२०११ मा अध्यक्षमा निर्वाचित भएका उनी हत्या तथा धम्की दिएको आरोपमा जेल पुगे । र त्यसको चार महिनामै सार्वजनिक पनि भए । फेरि उनी जेल गए । यसरी उनी जेल जाने र आउने श्रृंखला एक दशकयता जारी नै छ । र हालसम्म उनीविरुद्ध ३ सयभन्दा धेरै मुद्दा दर्ता भइसकेको छ ।

२०१२ मा उनी ग्र्याजुएट भए र विद्यार्थी राजनीतिमा आफ्नो प्रभाव जमाउन थाले । यसरी पन्जाबबाट विद्यार्थी राजनीतिबाट उदाएका डन बिश्नोइ विस्तारै विद्यार्थी राजनीति छाडेर ग्याङस्टर बन्न थाले । २०१८ मा उनी सलमान खानको हत्या गर्न भन्दै मुम्बइ पुगेका थिए । तर यसअघि २०१३ मा मुक्तसरस्थित सरकारी क्याम्पसमा युनियनको चुनाव हराउने व्यक्तिको हत्या गरिदिए । त्यसै बेला उनले आफ्नो ग्याङ बनाउन थालेका थिए ।

उनले २०२० मा फेरि सलमान खानको हत्याको योजना बनाएका थिए । सिद्धु मुसेवालाको हत्याकै समयमा उनले आफ्ना ग्याङका सदस्यहरुसँग मिलेर सलमानको पनि हत्या योजना बनाएका थिए । तर उक्त योजना असफल भयो । र तेस्रो पटक पनि फेरि उनले योजना बनाएका थिए । त्यसबेला सलमान खानले पान खाने गरेको पसलमा समेत रेकी गरिरहेका थिए । र यसका लागि सुटर समेत तयार पारिसकेका थिए । कुन बाटो हिँड्छन्, कुन गाडी चढ्छन् र कहाँ जान्छन् भन्ने जस्ता जानकारी लिएर सुटरलाई बिश्नोइले तयार बनाइराखेका थिए । र त्यसबीचमा सुटरले सलमान खानको बडी गार्डसँग मित्रता गाँस्ने सम्मको तयारी भएको थियो । तर यसबारे दिल्ली प्रहरीले सूचना पाएपछि सलमान खानको हत्या योजना तेस्रो पटक असफल भएको थियो ।

र यही घटनापछि बिश्नोइ गिरफ्तार भएका हुन् । सुटरसँग सोधपुछको क्रममा अमेरिका बस्ने अनमोल बिश्नोइको बारेमा जानकारी आएको थियो । र अनमोल लरेन्सका भाइ हुन् ।

लरेन्सको समूहमा जोडिनेहरु भारत मात्रै नभएर अमेरिका, क्यानडा सहित थुप्रै देशमा सदस्य रहेको बताइन्छ । पछिल्लो समय जेलमा रहँदा लरेन्स ब्रह्माचारी जीवन बिताइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जहाँ उनी बिहान दही पिउँछन् र खाना थोरै खान्छन् ।

भारत र क्यानडाबीच द्वन्द्वमा कसरी जोडिए लरेन्स

क्यानडा र भारतबीच गहिरिँदै गएको द्वन्द्को एक कारक व्यक्ति बिश्नोइ पनि हुन् । जसलाई लिएर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहितका उच्च अधिकारीहरुले क्यानडामा बिश्नोइ समूहले आतंक मच्चाएको र त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संरक्षण गरेको दाबी गरेका छन् ।

विशेषगरी क्यानडाका अधिकारीहरुमाथि आक्रमण गर्न भारत सरकारले नै आपराधिक गिरोहलाई उक्साएको क्यानेडियन पक्षको दाबी रहँदैआएको छ । र त्यो आपराधिक गिरोह अरु कुनै नभएर उनै विश्नोइको समूह नै हो । र क्यानेडियन पक्षले पनि बिश्नोइ समूहलाई नै संकेत गरिरहेका छन् ।

ट्रुडोले भनेका थिए, ‘भारतले ठूलो गल्ती गरेको छ । क्यानडाको भूमिमा क्यानेडियन नागरिकहरुलाई धम्की दिने र मार्ने विदेशी सरकारको संलग्नतालाई हामी कहिल्यै सहन सक्दैनौं ।’

त्यसो त भारतीय मूलका क्यानेडियन अधिकारी हरजितसिंह निज्जरको हत्यामा क्यानडाले भारतमाथि कडा आरोप लगाउँदै आएको छ । र यसमा पनि उनै बिश्नोइलाई क्यानाडाले लक्षित गरिरहेको छ । यद्यपि भारतले उक्त आरोप अस्विकार गरिरहेको छ ।

खासगरी शिख समुदायको पृथकतावादी आन्दोलन खालिस्तानी अभियानले गर्दा दसकौंदेखि भारत र क्यानडाबीच द्वन्द्व सिर्जना हुँदैआएको छ । यसले दुई देशबीचको सम्बन्ध बिगार्नुका साथै क्यानडाको सत्ता राजनीतिलाई नै प्रभाव पारिरहेको छ ।

क्यानडामा शिखहरुको चरमपन्थी अभियान साथै खालिस्तानी अभियान लगायत कारणले गर्दा पनि भारत क्यानडासँग रुष्ट बन्दैआएको थियो । यसबीचमा खालिस्तानी अभियानका केही अभियन्ताहरुको हत्या भयो । जसमध्ये केही हत्याको उनै बिश्नोइले जिम्मा लिए ।

१९८० को दशकमा पन्जाबमा भारतीय सुरक्षा एजेन्सीहरुले गरेको आन्दोलनमा शिख समुदायका व्यक्तिहरुको गैरन्यायिक हत्या तथा मानवअधिकार उल्लंघन भएको भन्दै आलोचना भइरहेको हुन्छ ।

उक्त घटनापछि नै भारतीय शिख परिवारहरु ठूलो संख्यामा क्यानडा बसाइँसराइ गरेर उतै गइसकेका छन् । १९८५ मा भने क्यानडाबाट मुम्बइका लागि उडेको जहाज शिख विद्रोहीले विस्फोट गराएको थियो । जहाँ ३२९ जना मारिएका थिए । र अधिकांश क्यानेडियन नागरिक नै थिए ।

पछिल्ला वर्षहरुमा खालिस्तानी अभियान सुस्ताउँदै गरेका बेला क्यानडासहित डायस्पोरा समुदायमा यो अभियान फेरि तीब्र बन्न थालेको छ । गत वर्ष भारतले पृथकतावादी सुखदुल सिंहलाई आफ्नो वान्टेड सूचीमा राखेकै भोलिपल्ट क्यानडाको विनिपेङ सहरमा गोली हानाहानमा मारिए । र उक्त हत्याको जिम्मा बिश्नोइले नै लिए ।

क्यानडा र भारतको सम्बन्ध बिग्रनुमा बिश्नोइको पनि भूमिका देखिन थालेको छ । पछिल्ला घटनासँगै भारतीय पक्षले भने क्यानडालाई भारतका लागि ‘नयाँ पाकिस्तान’को संज्ञा दिने गरेको छ भने क्यानडाले आपराधिक गिरोहलाई संरक्षण दिएको भन्दै भारत सरकारको कडा आलोचना गरिरहेको छ ।

क्यानडासँगको द्वन्द्वमा जोडिरहेका र भारतमा मुस्लिम नेताहरुको हत्याको जिम्मा लिइरहेका लरेन्सलाई कतिपयले भने कुनै स्वतन्त्र गिरोह वा समूह नभएर भारतको भाजपा सरकारले नै ग्याङको रुपमा हौवा फैलाएर प्रयोग गरिरहेको एक ‘मुखौटा’ भनेर पनि टिप्पणी गर्ने गर्छन् । त्यसो त उनी गुजरातस्थित जेलमा पनि सानदार तरिकाले जीवन यापन गरिरहेको बताइन्छ ।

दाउद इब्राहिमसँग तुलना

आपराधिक सञ्जालको विस्तार र आक्रामकतालाई लिएर बिश्नोइलाई पछिल्लो समय कुख्यात अन्डरवर्ल्ड दाउद इब्राहिमसँग पनि तुलना गरिन्छ । जवकि बिश्नोइका बाबु पन्जाब प्रहरीमा सिपाही थिए । र दाउदका बाबु पनि प्रहरी सिपाही नै थिए । र उनीहरुको आपराधिक शैली र तरिकाहरु कतिपय अवस्थामा उस्तै प्रकृतिका हुने गरेका छन् ।

जसरी ९० को दशकमा दाउद इब्राहिमले आफ्नो अपराध साम्राज्य फैलाइरहेका थिए । त्यसैगरी बिश्नोइले पछिल्लो एक दशकको अवधिमा आफ्नो अपराध साम्राज्य फैलाइरहेका छन् । बिश्नोइको समूहमा ७०० भन्दा धेरै सुटरहरु नै रहेको बताइन्छ । जुन समूह भारतको पाँच राज्यमा सक्रिय रहँदै आएको छ ।

क्यानडा, अष्ट्रेलिया, इटाली लगायत देशमा बिश्नोइको ग्याङ सक्रिय छ । जेलमा रहँदा नै बिश्नोइले दिल्लीमा गोगी ग्याङसँग सम्बन्ध बलियो बनाए । यस्तै हरियाणाको सन्दीप ऊर्फ काला जठेडीसँग सम्बन्ध स्थापित गरे । अलग अलग राज्यका ग्याङसँग उनले सम्बन्ध स्थापित गरिरहेका छन् । तर उनको ग्याङका सदस्यहरुले प्रेमिका बनाउने गरेका छैनन् ।

कसरी भए अपराधी ?

बिश्नोइ कक्षा १० मा बढ्दा सहपाठी काजल नाबाच्या नाम करेकी किशोरीको प्रेममा परेका थिए । उनीहरु सँगै चन्डीगढमा रहेको डेभ कलेज पढ्न थाले । काजल पढाइमा अत्यन्तै तेज थिइन् भने बिश्नोइ विद्यार्थी राजनीतिमा सक्रिय भए ।

विद्यार्थी संगठनको चुनावमा बिश्नोइको संगठनले हार्यो । त्यसपछि उनका प्रतिद्धन्द्धीले काजलको जिउँदै जलाएर हत्या गरे । त्यसपछि बिश्नोइ बिक्षीप्त भएर अपराधिक क्रियाकलाम सक्रिय भए । उनले पेस्तोल किने र काफ्नो प्रेमिकाको हत्या गर्नेलाई गोली हानेर हत्या गरे।

त्यसपछि उनी खुलेआम अपराधिक क्रियाकलापमा सक्रिय हुन थाले । उनको अपराधको जालो भारतका अन्यशहरसँगै संसारभर फैलिएको छ । हत्या, हिंसा, चन्दा, आतंक, फिरौती, हतियार र लागू औषधको कारोबारमा संलग्न हुँदै उनको नाममा अपराधको साम्म्राज्य फैलिएको छ । बिश्नोइसँग ५ करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Publish on: