काठमाडौं । नेपाली महिला फुटबल टोली गत कार्तिकमा साफ महिला फुटबलको फाइलन खेलमा बंगलादेशसँग पराजित हुन पुग्यो । महिला टोली साफ फुटबलमा पराजित हुँदा धेरै समर्थकहरु निराश हुन पुगे ।
प्रतियोगिताको सुरुवाती खेलदेखि नै नेपाली समर्थकहरुको धुँइचो रंगशालामा थियो । अझ सेमिफाइनल र फाइलन खेलमा दर्शकको बाख्लो उपस्थिति थियो । नेपाली फुटबल समर्थकको त्यो स्तरको समर्थन लामो समय पछि देखिएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता हेर्न दर्शकहरुलाई सेमिफाइनल र फाइनल खेलमा सधारणतर्फ ५०० र भीआईपीतर्फ १ हजारका दरले टिकटको मूल्य तोकेको थियो । १५ हजार दर्शक क्षमता रहेको दशरथ रंगशालमा सेमिफाइनल र फाइनल खेलमा सम्पूर्ण टिकट बिक्री भएको थियो ।
एन्फाले साधारणतर्फ १० हजार र भीआईपी १ हजार मात्र टिकट बिक्री गरेको थियो । सेमिफाइनल खेलमा १५ हजार दर्शक क्षमता भएको ठाँउमा १८ हजार दर्शकको सहभागिता भएपछि एन्फाले फाइनल खेलको टिकट आफैं काट्ने निधो गरेको थियो।
एन्फाले पत्रकार सम्मेलनमा टिकट बिक्री गर्दै आएको माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सबाट अधिकार खोसेर २ ठाँउमा आफैं टिकट बेच्ने बताएको थियो ।
८० लाख रुपैयाँमा माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सले टिकट बेच्न एन्फाबाट अधिकार लिएको थियो । उक्त अधिकार खोसेको एन्फाले फाइनलमा ६० लाख बराबरको टिकट बिक्री गरेको भनिएको छ ।
तर, एन्फाले त्यो भन्दा धेरै टिकट बिक्री गरेको तर कम देखाएको आरोप एन्फा कार्यसमितिका व्यक्तिहरुले नै लगाएका छन् । माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सले अहिले एन्फाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतियोगितामा आफूलाई दिएको अधिकार खोसेर एन्फाले आफूखुसी टिकट बिक्री गरेको आरोप म्यानेजमेन्ट कम्पनीको छ ।
त्यसैले पनि एन्फाले हालसम्म खर्च विवरण सार्वजनिक गर्न नमानेको कार्यसमितिका सदस्यहरुको आरोप छ।
एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा टिकट बेच्ने अधिकार एन्फाले आफैंले राख्नु गलत भएको बताएका थिए ।
उनले एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सबाट प्रतियोगिताको सम्झौताअघि नै ३० लाख लिसकेको अवस्थामा पनि त्यो अधिकार खोस्नु जायज नभएको बताएका थिए ।
‘एउटा कम्पनीलाई टिकट बेच्ने अधिकार दिएपछि एन्फाले त्यो सम्झौता अन्तिमसम्म कायम राख्नु पर्छ । टिकट राम्रो बिक्री भएको देखेर नियत परिवर्तन गर्नु हुँदैन,’ खड्काले भने ।
एन्फाले फाइनलमा बचेको टिकटबाट ६० लाखभन्दा धेरै कमाएको भन्ने रेकर्ड आएको थियो । जसमा सधारणतर्फ १० हजार टिकट बेच्दा ५० लाखको आम्दानी भएको थियो । त्यस्तै भीआईपीतर्फ एक हजार टिकट बेच्दा १० लाख आम्दानी गरको गरेको थियो ।
तर, एन्फाको रेकर्डमा त्यो भन्दा धेरै टिकट बिक्री भएको देखिन्छ । समूह चरणका खेलहरुको आम्दानीको विषयमा भने एन्फाले अहिलेसम्म एकिन तथ्यांक निकाल्न सकेको छैन ।
माउन्ट एभरेस्ट स्पोर्टस एण्ड इभेन्ट्सले टिकटको आम्दानीको विषयमा हालसम्म एकिन तथ्यांक नदिएको र अदालतमा मुद्दा दायर भएका कारण एन्फाले हालसम्म टिकटबाट आम्दानी भएको रकम सार्वजनिक नगरेको बताएका छन् ।
‘अदालतमा मुद्दा दायर भएका कारण मैले अहिले नै यो विषयमा बोल्न मिल्दैन । तर, खर्च विवरण भने हामी छिटै सार्वजनिक गर्नेछौं । त्यसका लागि मुद्दाको फैसला कुरिरहेका छौं,’ एन्फा महासचिव किरण राईले क्लिकमान्डुसँगको कुराकानीमा भने ।
यता एन्फाले टिकट बिक्रीबाट पाउने २० प्रतिशत रकम महिला खेलाडीलाई दिने निर्णय गरे पनि हालसम्म आम्दानीको विवरण नआउँदा यो विषय पनि अन्योलमा छ ।
प्रतिक्रिया