![](https://internal.appharu.com/wp-content/uploads/2024/03/bamdev-768x424.jpg)
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको फोन संवादको विषयमा स्पष्टीकरण दिँदै, ओलीलाई अडियो सार्वजनिक गर्न चुनौती दिएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गौतमले आफूलाई बदनाम गर्न ओलीले प्रचारको विषय बनाएको आरोप लगाए ।
केही दिनअघि, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले वामदेवसँग भएको फोन संवादबारे प्रसंग उठाएका थिए । ओलीका अनुसार, वामदेवले उनलाई स्वकीय सचिव राजेश बज्राचार्य ठानेर फोन गरेका थिए र मदन भण्डारीको हत्या कांग्रेसले गरेको भनी एउटा फेक अडियोको आधारमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।
ओलीले भनेका थिए, ‘फोन मैले उठाएको थिएँ, तर उहाँ (वामदेव) राजेश भन्ठानेर मसित बम्किनुभयो।’
गौतमले भने, आफूले ओलीलाई फोन गर्दा सम्पर्क नभएपछि राजेश बज्राचार्यलाई सम्पर्क गरेको र भिडियोको लिंक पठाएर, ‘यो गम्भीर विषय हो । प्रधानमन्त्री र अध्यक्षबाट हट्नुपर्ने अवस्था आउन सक्छ,’ भनेको दाबी गरेका छन् ।
वामदेवले विज्ञप्तिमा लेखेका छन्, ‘मदन भण्डारी हत्या सम्बन्धी एउटा लिंक हेरेर म स्तब्ध भएँ । मैले यो विषयमा प्रधानमन्त्रीलाई नै जानकारी दिन खोजेँ । जब फोन लागेन, मैले राजेश बज्राचार्यलाई लिंक पठाएँ र कुरा गरेँ । तर, प्रधानमन्त्रीले यसलाई प्रचारको माध्यम बनाउँदै मलाई बदनाम गर्न खोज्नु अशोभनीय हो।’
गौतमले ओलीलाई फोन संवादको अडियो सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले भनेका छन्, ‘यदि मैले कुनै अनावश्यक कुरा बोलेको प्रमाणित हुन्छ भने म त्यसको जिम्मेवारी लिन तयार छु। प्रधानमन्त्रीज्यू, तपाईंको हैसियतले यो रेकर्ड सार्वजनिक गर्न सक्नुहुन्छ।’
वामदेव गौतमको वक्तव्य:
प्रिय क. केपी ओली !
अभिवादन !!
तपाईँको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईँबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईँको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ । वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो ।
त्यसपछि मैले वहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो, केपी कमरेडको फोन उठेन र तपाईँलाई पठाइदिएको छु । तु वहाँलाई पठाइदिनोस् । मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ ।
योभन्दा बढी मैले एक शब्द पनि बोलेको छैन । फोन नम्बर राजेश कै हो । राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु । यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोसिस गर्नुहोला भन्ने मलाई लागेको थिएन ।
क। केपी, म तपाइलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनोस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ ।
वामदेव गौतम
१ पुस २०८१
SHARE YOUR THOUGHTS