![](https://internal.appharu.com/wp-content/uploads/2024/12/kp-minbahadur-768x399.jpg)
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले सत्तारुढ दल नेकपा एमालेलाई पार्टी कार्यालय निर्माणका लागि दान गरेको जग्गाविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सोमबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज गर्ने फैसला गरेको हो ।
कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दर्ता गराएका थिए । बस्नेतले उक्त रिटमा भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यवसायीबाट चन्दा लिने विषय कानुन र नैतिकताविपरीत रहेको दाबी गरेका थिए । साथै, उनले राजनीतिक दलहरूले चन्दा तथा दान पारदर्शी बनाउनुपर्ने माग गरेका थिए ।
यसअघि कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै जग्गा हस्तान्तरण तथा अन्य प्रक्रिया नगर्न अन्तरिम आदेश दिएको थियो । उक्त मुद्दाको सुनुवाइमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङ दम्पतीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा अवस्थित १० रोपनी १४ आना जग्गा नेकपा एमालेलाई पार्टी भवन निर्माणका लागि दान दिएका थिए। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त स्थानमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास असोज २५ गते गरेका थिए ।
अधिवक्ता बस्नेतले यो रिटमा गुरूङ र एमालेलाई विपक्षी बनाउँदै दान प्रक्रिया खारेज गर्न माग गरेका थिए । यसअघि सर्वोच्च अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरे पनि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको निर्णय उल्टाउँदै रिट दर्ता गर्न आदेश दिएको थियो ।
SHARE YOUR THOUGHTS