
काठमाडौं । भारतका अर्बपति व्यापारी गौतम अडानीले १९०२ मेगावाटको मुगु कर्णालीमा लगानीको चासो देखाएका छन् । विद्युत उत्पादन कम्पनीले अध्ययन गरिरहेको १९०२ मेगावाट परियोजना अडानीले चासो देखाएका हुन् ।
शुक्रबार अडानी समूहका प्रतिनिधिले विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखत बहादुर शाहीसँग छलफल गरेका थिए ।
उनीहरुले यो परियोजनाका विषयमा चासो राखेको शाहीले बताए । सीईओ शाहीले उनीहरुलाई स्थानीय साझेदारहरुले मात्रै लगानी गर्न मिल्ने गरी आशयपत्र निकालिएको बताए ।
दुई पटकसम्म स्थानीय लगानीकर्ताका लागि सूचना निकालिने र स्थानीय लगानीकर्ता नआए बाह्य लगानीका लागि सूचना निकालिने बताएका थिए । अडानी ग्रुपका प्रतिनिधीहरु लोकल एजेन्टसहित ४/५ जना आएका थिए । उनीहरुले परियोजनाको अवस्थाका बारेमा छलफल गरेका थिए ।
लामो समयदेखि नेपालमा लगानी गर्न अडानीले चासो देखाउँदै आए पनि अहिलेसम्म औपचारिकता पाउन सकेको छैन ।
अडानी समूहले २ वर्षअघि १० हजार ८ सय मेगावाट क्षमताको कर्णाली चिसापानी बहुउदेश्यीय आयोजनामा चासो देखाएको थियो। त्यस्तै काठमाडौ अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका साथै निजगढ लगायतका एयरपोर्टमा पनि चासो देखाएको थियो।
यसपटक भने अलि गम्भीर चासो देखाएको स्रोतहरुको दाबी छ ।

विद्युत उत्पादन कम्पनीले १९०२ मेगावाटको मुगु कर्णाली र ४५४ मेगावाटको किमाथांका अरुणमा लगानी जुटाउन प्रस्ताव मागेको छ । कम्पनीले अघिल्लो आइतबार सूचना निकालेर यी दुवै परियोजनामा वित्तीय प्रस्ताव मागेको हो ।
कम्पनी आफैंले लगानी जुटाउन सक्ने अवस्था नभएपछि पीपीपी मोडलबाट आयोजनाहरु विकास गर्न खोजेको हो । ५१ प्रतिशत लगानी गरी साझेदारी गर्न इच्छुक कम्पनीसँग प्रस्ताव मागिएको छ । १५ दिनभित्र प्रस्ताव पेस गर्नुपर्नेछ । पुस ८ गते प्रस्ताव खोलिनेछ । सूचनामा नेपाली नागरिक वा नेपाली नागरिक मात्र प्रवर्द्धक रहेको कम्पनीले आवेदन दिन सक्ने उल्लेख छ ।
सीईओ शाहीका अनुसार कुनै विदेशी कम्पनीलाई परियोजनाको ५१ प्रतिशत सेयर बेच्न लागिएको होइन । ‘अहिले हामीले स्वदेशी लगानी आउन सक्छ कि सक्दैन भनेर सूचना निकालेका हौं । यदि कुनै कम्पनी सक्षम भए, त्यसमा लगानी हुन्छ । हामी अघि बढ्छौं । यदि नभए बाहिरबाट पनि लगानी ल्याउनुपर्ने हुन सक्छ,’ शाहीले भने, ‘फुकोट कर्णाली भारतीय कम्पनीले पाउँदा मुद्दा पर्यो । स्वदेशीले बनाउन सक्ने परियोजना विदेशीलाई दिएको भन्दै मुद्दा परेको छ । भोली त्यस्तो परिस्थिति नआओस् भनेर स्वदेशीका लागि सूचना निकालेका हौं ।’
शाहीकाअनुसार भारतीय कम्पनी एनएचपीसीले पाएको फुकोट कर्णाली मुद्दा परेका कारण रोकिएको छ । त्यस्तो मुद्दा नपरोस् भन्नका लागि स्वदेशी लगानी आह्वान गरिएको हो ।
कम्पनीले लगानी साझेदारी कार्यविधि २०८१ ल्याएर दुबै परियोजनामा लगानी जुटाउन प्रस्ताव आह्वान गरेको हो । यो कार्यविधिमा लगानी साझेदारी नेपाली वा नेपाली नागरिक मात्रै प्रवर्द्धक रहेको कम्पनीले प्रस्ताव गर्न सक्ने उल्लेख छ ।
पहिलो चरणको प्रस्ताव दुई पटक आह्वान गर्दा समेत योग्य प्रस्ताव छनोट हुन नसकेमा कम्पनीले विदेशी लगानीकर्ता वा विदेशी लगानीकर्ता भएको सयुक्त उपक्रम (जेभी) बाट दोस्रो चरणको प्रस्ताव आह्वान गर्नुपर्ने उल्लेख छ ।
मुगु कर्णाली १९०२ मेगावाटको आयोजना जलाशययुक्त जलविद्युत् आयोजना हो । यो जलविद्युत् आयोजनाको सम्भाव्यता अधययन गरिरहेको छ । ४ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो आयोजनाले ६२९१.८ गिगावाट आवर उत्पादन गर्न सक्छ । कर्णाली नदीमा पहिचान भएको यो जलविद्युत आयोजना सबैभन्दा माथिल्लो बेल्टमा निर्माण हुनेछ । यो आयोजनाको बाँध करिब २५० मिटर उचाईको हुने अनुमान छ । आयोजनाले कर्णालीका कालिकोट, मुगु, हुम्ला र जुम्ला गरी ४ जिल्लामा निर्माण हुनेछ ।
सम्भाव्यता अध्ययनले यो परियोजना निर्माणका लागि १० वर्ष लाग्ने उल्लेख गरेको छ । भुमिगत विद्युत गृह निर्माण हुनेछ । ७.७ पिकिङ दिन सक्ने परियोजना हो । नेपालमा अध्ययन भइरहेको सबैभन्दा ठूलो परियोजना यहि हो । यो आयोजनाको १० प्रतिशत इन्टर्नल रेट अफ रिटर्न छ ।
किमाथांका अरुणमा पावर चाइना इच्छुक छ । २/३ वर्षदेखि निरन्त लबिईङमा पावर चाइना छ । चिनियाँ सीमा नजिकको परियोजना भएकाले चीनबाहेकका कम्पनीलाई दिन अप्ठ्यारो अवस्था समेत छ । नेपालले आफैं लगानी गर्न सक्ने अवस्थाबाहेक चिनियाँ कम्पनीलाई दिदाँ उपयुक्त हुने निष्कर्ष निकालिएको छ । किमाथांका अरुणको सम्भाव्यता अध्ययन भएको छ ।
किमाथांका अरुण जलविद्युत् आयोजनाको ४५४ मेगावाटको अर्ध जलाशय प्रकृतिको हुनेछ । यो परियोजना निर्माणका लागि ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान छ ।
SHARE YOUR THOUGHTS